संसद्‌मा नेकपाको माग : ‘छोरी बचाऊ राष्ट्रिय जागरण अभियान’ चलाऊँ

संसद्‌मा नेकपाको माग : ‘छोरी बचाऊ राष्ट्रिय जागरण अभियान’ चलाऊँ

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले बालबालिकामाथि हुने यौनहिंसा र हत्याका घटना रोक्न ‘छोरी बचाऊ राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बाराकी तीन वर्षिया बालिकाको बलात्कारपछि हत्या भएको विषलाई जोड्दै उनले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।

बैठकको विशेष समयमा उनले पछिल्लो समय बालिकामाथि भएका हिंसा र हत्याका घटनाले सिङ्गो मुलुकलाई भावविह्वल बनाएको बताए।

“कोपिलामै चुँडिएका र खुसी लुटिएका घटनाले आज यो सम्मानित सभा र सिङ्गो देश भावविह्वल भएको छ”, सांसद दुलालले भने। उनले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै घटनामा संलग्न दोषीलाई कारबाही मात्र गर्नेभन्दा यस्ता घटना हुनै नदिन राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए।

“घटना घटेपछि कारबाही गरेर दोषीलाई सजाय दिनुभन्दा हाम्रा छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ”, सांसद दुलालले भने।

उनले छोरीहरूको सुरक्षाका लागि राजनीतिक, शैक्षिक, स्वास्थ्यलगायत सबै क्षेत्रलाई समेटेर राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न सरकारसँग आग्रह गरे।

भदौ ८, २०८३ सोमबार १७:२६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।