बलात्कारीलाई कडा सजाय दिन कानुन संशोधन गर्न सांसदहरूको माग

बलात्कारीलाई कडा सजाय दिन कानुन संशोधन गर्न सांसदहरूको माग

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा सांसदहरूले बलात्कार, यौनहिंसा तथा हत्या जस्ता जघन्य अपराधमा संलग्न अपराधीलाई हदैसम्मको कडा सजाय दिन र आवश्यक परे विद्यमान कानुन तथा संविधान नै संशोधन गर्न सरकारसँग माग गरेका छन्।

शून्य समयमा बोल्दै सांसदहरूले कानुन संशोधन, सजायको दायरा विस्तार, जनचेतना अभिवृद्धि र प्रारम्भिक उजुरीलाई प्राथमिकता दिन आग्रह गरे।

सांसदहरुले आगामी दिनमा त्यसखाले घटना हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन र अपराधिक घटनामा संलग्नलाई हदैसम्मको सजायको व्यवस्था गर्न सरकारलाई सुझाव दिए। 

सांसद अनुश्का श्रेष्ठ, अफ्साना बानु, आशिका तामाङ, कन्हैया बनिया, खगेन्द्र सुनार र गीताकुमारी सेन्दाङले बलात्कार र हत्या जस्ता जघन्य अपराधमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न कानुन तथा संविधान संशोधनको माग गरे।

सांसद डा. अमरेशकुमार सिंहले अराजकता, अस्थिरता, हत्याहिंसा र बलात्कारको घटना नियन्त्रण गर्न सरकार गम्भीर ढङ्गले प्रस्तुत हुनुपर्ने बताए। सांसद अरविन्द साहले मधेस प्रदेशका केही जिल्लामा आपराधिक घटना वृद्धि भएको जनाउँदै सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग गरे।

सांसद आकृति अवस्थीले कार्यालय, सार्वजनिक यातायात, विद्यालय, समुदाय तथा घरभित्र महिला सुरक्षित हुने अवस्था सुनिश्चित गर्न माग गरिन्। सांसद आशिका तामाङले बलात्कारलगायत जघन्य अपराधमा संलग्नलाई कडा कारबाहीको कानुनी व्यवस्था नभएसम्म समाजबाट यस्ता घटना न्यून नहुने धारणा राखिन्। 

यस्तै, सांसद आकृति अवस्थी, एलिजा गुरुङ, क्रान्तिशिखा धिताल र एशुदाकुमार बराललगायतका सांसदहरूले घर, विद्यालय, कार्यस्थल र सार्वजनिक यातायातमा महिला तथा बालिकाको सुरक्षा सुनिश्चित गर्न र बाल हिंसा रोक्न विद्यालयस्तरमै शिक्षा दिनुपर्नेमा जोड दिए।

सांसद गीताकुमारी सेन्दाङले महिला र बालिकामाथिको हिंसाको घटना दोहोरिन नदिन कडा कानुनी व्यवस्था गर्न माग गरिन्। सांसद गुरुप्रसाद बरालले जघन्य अपराध रोक्न सुरक्षा व्यवस्था मजबुद बनाउन सरकारलाई सुझाव दिए।

भदौ ८, २०८३ सोमबार १७:१०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।