धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका अब सञ्चारको पहुँचमा
काठमाडौं : नेपाल टेलिकमले धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा सोमबारदेखि फोर-जी सेवा विस्तार गरेको छ। उक्त क्षेत्रमा सञ्चार सेवा उपलब्ध भएपछि स्थानीय, तीर्थयात्री, पर्यटक तथा विभिन्न सरकारी तथा गैरसरकारी निकाय पनि लाभान्वित भएका छन्।
भर्चुअल माध्यमबाट सेवा सञ्चालनको उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दुर्गम भेगका नागरिकलाई सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए।
दूरसञ्चार सेवा पुर्याउन निरन्तर खटिने नेपाल टेलिकमका कर्मचारी, हेलिकप्टरमार्फत सामग्री ढुवानीमा सहयोग गर्ने नेपाली सेना तथा कार्यमा समन्वय र सहकार्य गर्ने बडीमालिकाका जनप्रतिनिधिलाई सञ्चारमन्त्री डा. तिमिल्सिनाले धन्यवाद ज्ञापन गरे।
सरकारले यस वर्षलाई दूरसञ्चार क्षेत्रमा अभूतपूर्व सुधार र डिजिटल रूपान्तरणको वर्षका रूपमा अघि बढाउन लागेको उल्लेख गर्दै तिमिल्सिनाले भौगोलिक रूपमा विकट भएकै कारण कुनै पनि नागरिक सञ्चार सेवाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गरिने बताए।
उनले देशका दुर्गम तथा पर्यटकीय क्षेत्रसम्म गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए। सेवा सञ्चालनपछि उनले टावर स्थापनाका लागि बडीमालिका क्षेत्रमा खटिएका नेपाल टेलिकमका प्राविधिकसँग भिडियो कलमार्फत प्रत्यक्ष संवाद गरे।
नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय र सुदूरपश्चिम प्रादेशिक निर्देशनालयबाट टावर निर्माणका लागि बडीमालिका क्षेत्रमा खटिएका कर्मचारीसँग उनले सेवा सञ्चालनको अवस्था र त्यहाँका कठिनाइबारे जानकारी लिए।
त्यस्तै, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीले दुर्गम क्षेत्रमा सञ्चार सुविधा पुर्याउने विषय टेलिकमको प्राथमिकतामा रहेको बताइन्। उनले टेलिकमको सेवा पहुँच विस्तारसँगै गुणस्तर सुधारका काम भइरहेको जानकारी दिइन्।
प्रबन्ध निर्देशक पहाडीले व्यावसायिक लाभलाई मात्र आधार बनाएर सेवा विस्तार गर्नुभन्दा सञ्चार सेवाको पहुँच कमजोर रहेका दुर्गम क्षेत्रमा सेवा पुर्याउने जिम्मेवारीलाई प्राथमिकता दिइएको बताइन्। उनले देशका विकट भूभागमा समेत नागरिकलाई सञ्चार सेवाको पहुँचमा ल्याउने उद्देश्यअनुसार नयाँ पूर्वाधार निर्माण र सेवा विस्तार भइरहेको जानकारी दिइन्।
मालिका क्षेत्रमा टेलिफोन सेवा सञ्चालनमा ल्याउन तिमिल्सिनाले गत साउन ८ गते नेपाल टेलिकमलाई तत्काल सेवा विस्तार गर्न निर्देशन दिएको थिए। बडीमालिकामा सञ्चार सेवा नपुगेको विषयमा गम्भीर चासो देखाउँदै उनले आवश्यक प्रक्रिया तत्काल अघि बढाउन तथा प्राविधिक र भौगोलिक चुनौतीको सामना गर्दै सेवा सञ्चालन गर्न निर्देशन दिए।
सञ्चारमन्त्रीको निर्देशनपछि नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा टावर निर्माण तथा फोर-जी सेवा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको थियो। सडक सञ्जालबाट उपकरण तथा निर्माण सामग्री ढुवानी गर्न कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत टावर निर्माणका लागि आवश्यक उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको थियो।
यसैबीच, तिमिल्सिनाले बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्कासँग त्यहाँ आवश्यक पर्ने दूरसञ्चार पूर्वाधार, सम्भावित टावर जडानस्थल तथा सडक सञ्जालको अवस्थाबारे छलफल गरे। सडकमार्फत उपकरण तथा निर्माण सामग्री पुर्याउन सम्भव नदेखिएपछि हेलिकप्टरबाट सामग्री ढुवानी गर्ने व्यवस्था मिलाउन उनले सम्बन्धित निकायलाई निर्देशन दिए।
बडीमालिका मन्दिर क्षेत्र समुद्र सतहबाट करिब चार हजार २०० मिटरको उचाइमा अवस्थित छ। टावर भने करिब चार हजार दुई सय ३० मिटरको उचाइमा रहेको लौरी विनायक भन्ने स्थानमा स्थापना गरिएको नेपाल टेलिकमले जनाएको छ । विकट स्थानमा प्राविधिक टोलीले सबै किसिमका चुनौती पन्छाउँदै टावर स्थापना गरेको हो ।
बडीमालिका क्षेत्रमा स्थायी बस्ती कम भए पनि धार्मिक, पर्यटकीय तथा पदयात्राका दृष्टिले यो क्षेत्र महत्त्वपूर्ण रहेको नेपाल टेलिकमका सहायक प्राविधिक अधिकृत माधव बुढाथोकीले जानकारी दिए। बडीमालिका मन्दिर, विभिन्न पाटन, पदमार्ग तथा त्रिवेणी क्षेत्रसम्म पुग्ने तीर्थयात्री तथा पर्यटकका लागि मोबाइल तथा इन्टरनेट उपयोग गर्न अब सहज हुनेछ।
सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढाउने घोषणा गरेको छ। त्यसअनुसार देशका दुर्गम, ग्रामीण तथा पर्यटकीय क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार विस्तार गर्ने, फोर-जी सेवाको पहुँच बढाउने, सेवा गुणस्तर सुधार गर्ने तथा नयाँ प्रविधिको विस्तारलाई प्राथमिकता दिइएको छ।
यसै योजनाअनुसार नेपाली भाषाको उद्गमस्थल मानिने जुम्लाको हाट सिञ्जा क्षेत्रमा पनि नेपाल टेलिकमको फोर-जी सेवा यही भदौ ५ गतेदेखि सञ्चालनमा आएको छ। कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा फोर-जी सेवा विस्तार भएसँगै सिञ्जा क्षेत्रको सञ्चार पहुँच सहज भएको छ।
यसैगरी, सगरमाथा आधार शिविरमा पनि फोर-जी सेवा विस्तारका लागि अध्ययन जारी छ। यसअघि नै केही उच्च हिमाली क्षेत्रमा दूरसञ्चार सेवा विस्तार भइसकेको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका-१, दुनैमा फोर-जी सेवा सञ्चालनमा आइसकेको छ। ताप्लेजुङको ओलाङचुङगोलामा पनि फोर-जी सेवा सञ्चालनमा छ।
सरकारले सञ्चार सेवाको पहुँच कमजोर रहेका देशका अन्य दुर्गम क्षेत्र पहिचान गरी क्रमशः सेवा विस्तार गर्ने योजना अघि सारेको छ। डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवाको पहुँचमा ल्याउने उद्देश्यले दूरसञ्चार पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको हो।
नेपाल टेलिकमका अनुसार हाल देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विस्तारका लागि करिब एक हजार छ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ। नयाँ टावर निर्माण तथा विद्यमान पूर्वाधारको क्षमता विस्तारबाट ग्रामीण र दुर्गम क्षेत्रका नागरिकलाई भरपर्दो मोबाइल तथा इन्टरनेट सेवा उपलब्ध गराउने सरकारको लक्ष्य छ।
भदौ ८, २०८३ सोमबार १७:०३:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।