संसदमा अमरेश भन्छन् : 'हाम्रो सरकार बन्नेदेखि मुलुकमा अराजकता बढ्यो'
काठमाडौं : सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेश सिंहले आफ्नो दलको नेतृत्वमा सरकार गठन भएयता मुलुकमा अराजकता, अस्थिरता र अपराधका घटना बढेको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा उनले सरकारको प्रभाव र जनविश्वास घट्दै जाँदा समाजमा असुरक्षा र बेथिति मौलाएको बताए। पछिल्ला घटनाक्रमले सरकारको शान्ति सुरक्षा कायम गर्ने क्षमतामाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ छ।
सिंहले भने, "हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ। अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार र विभिन्न किसिमका आन्दोलन भइरहेका छन्। नेपाली जनता दुःखमा छ, एङ्गरमा छ।"
रास्वपाको सरकार बनेदेखि नै मुलुकका विभिन्न भागमा धार्मिक-सामाजिक सद्भाव बिग्रनुका साथै हत्या, हिंसा र बलात्कारका घटना बढेको उनले बताए। समाजमा अविश्वास र निराशा बढ्दा अपराधका घटनाले प्रश्रय पाउने उनको भनाइ छ।
सिंहले भने, "जब समाजमा व्यथिति हुन्छ, जब विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ। यसलाई राम्रै छलफलको आवश्यकता छ।"
मिटरब्याज, लघुवित्त पीडितदेखि चिकित्सकहरूसम्म आन्दोलन रहेको उल्लेख गर्दै उनले मुलुक कता जाँदै छ भनी प्रश्न समेत गरे।
भदौ ८, २०८३ सोमबार १६:१५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।