लुम्बिनी प्रदेश सरकार पुनर्गठन : नेकपाबाट थपिए मन्त्री, पुराना मन्त्रीहरूको जिम्मेवारी हेरफेर
बुटवल : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले मौजुदा मन्त्रिपरिषद् पुनर्गठनका लागि सोमबार प्रदेश प्रमुखसमक्ष सिफारिस गरे।
नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम गठित मन्त्रिपरिषद्को कार्य विभाजनसहित पुनर्गठनका लागि मुख्यमन्त्री आचार्यले सिफारिस गरेका थिए।
सिफारिसअनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट तीन जना नयाँ मन्त्री नियुक्त हुँदैछन्। दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारुलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारुलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोक्ने तयारी छ।
नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथग्रहण मंगलबार दिउँसो ३ बजेर २५ मिनेटमा प्रदेश प्रमुखको कार्यालय, बुटवलमा हुने मुख्यमन्त्रीको सचिवालयले जनायो।
पुनर्गठित मन्त्रिपरिषद्मा तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयमा सारियो। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सम्हाल्दै आएका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइयो।
त्यस्तै, सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा रहेका सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइयो।
वर्तमान सरकारमा एमालेबाट मुख्यमन्त्रीसहित चार जना, नेकपाबाट तीन जना र जनता समाजवादी पार्टी, नेपालबाट दुई जना मन्त्री रहने सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिँदै छ।
भदौ ८, २०८३ सोमबार १५:२३:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।