किशोरको भिडियो खिच्ने बाराको प्रहरी पक्राउ, एसपी कार्वाही बाहिरै
काठमाडौं : बाराकी बालिकाको बलात्कार र हत्या घटनाका एक आरोपीको पहिचान र बयान भिडियो सार्वजनिक गरेर विवादमा आएको बारा प्रहरीले तल्लो तहका एक प्रहरी कर्मचारीमाथि कार्वाही सुरु गरेको छ। पक्राउ परेका प्रहरीको पहिचान भने सार्वजनिक गरिएको छैन।
तर बालबालिका सम्बन्धी कानुन विपरीत नाबालक आरोपीलाई पत्रकार सम्मेलनमा सार्वजनिक गर्ने एसपीमाथि कार्वाही सुरु भएको छैन। पक्राउ परेका किशोरको भिडियो आइतबार बेलुकाबाट सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय बारामै कार्यरत एक प्रहरीलाई पक्राउ गरिएको छ।
अन्य प्रहरी अनुसन्धानको दायरामा रहेको दाबी गरिएको छ। बालबालिका सम्बन्धी कानुन अनुसार १८ वर्ष मुनिकाको पहिचान गोप्य राख्नु पर्नेमा बाराका प्रमुख एसपी नरेन्द्र कुँवरले पत्रकार सम्मेलनमा नाबालिगलाई सार्वजनिक गरेका थिए।
सर्वोच्च अदालतले बालिगको हकमा समेत आरोपी भएकै आधारमा सार्वजनिक नगर्न परमादेश दिएको थियो। तर कुँवरले घटनाबारे जानकारी दिन जिल्ला प्रहरी कार्यालयमै आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेका २४ वर्षका युवासँगै १६ वर्षका किशोरलाई थुनुवाको हाफ ज्याकेट लगाएर सार्वजनिक गरेका थिए।
आइतबार बेलुका बालकसँग घटनाबारे लिइएको बयानको भिडियो नै सार्वजनिक भयो। सो भिडियो २ जना प्रहरीले खिचिरहेको सार्वजनिक भएको भिडियोमै देखिन्छ। भिडियोमा एक व्यक्तिले ती किशोरलाई भात खुवाउने भन्दै घटनाबारे सोधिरहेको देखिन्छ। यो घटनामा बालबालिका सम्बन्धी कानुन उलङ्घनमा जिल्ला प्रमुख नै संलग्न रहेको सार्वजनिक भएका प्रमाणहरूले देखाउँछ। तर एसपीबारे प्रहरी प्रधान कार्यालयले कुनै निर्णय गरेको छैन।
उकेरासँगको कुराकानीमा एसपी कुँवरले प्रहरी जवानको हकमा आफूले कार्वाही गर्ने तर आफ्नो बारेमा प्रहरी प्रधान कार्यालयले निर्णय गर्ने बताएका थिए।
प्रहरी प्रवक्ता अविनारायण काफ्लेले उकेरासँग यसबारे अनुसन्धान भइरहेको मात्र प्रतिक्रिया दिएका थिए। एसपीसम्मको सरुवाको अधिकार प्रहरी महानिरीक्षकमै रहेको छ। कुँवर यस अगाडि पनि लेनदेनको विवादमा छानबिनका लागि प्रहरी प्रधान कार्यालय तानिएका प्रहरी अधिकारी भएको खुलेको छ।
सम्बन्धित समाचार
भदौ ८, २०८३ सोमबार १५:१०:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।