इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणाले वैश्विक बजारमा हलचल
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य र आर्थिक क्षमतालाई कमजोर पार्ने उद्देश्यले आर्थिक कारबाही घोषणा गरे। इरानलाई अन्तर्राष्ट्रिय समुदायबाट अलग्याउने र इरानसँग वित्तीय वा व्यापारिक कारोबार गर्ने तेस्रो पक्षीय मुलुक एवं संस्थाहरूमाथि उनले आर्थिक कारबाहीको चेतावनी दिए।
ट्रम्पको यो घोषणापछि सोमबार तेलको मूल्यमा गिरावट आयो। एसियाली बजारमा पनि सुरुआती कारोबारमा अधिकांश प्रमुख सूचक ओरालो लाग्यो। दक्षिण कोरियाको प्रविधि क्षेत्र केन्द्रित कोस्पी सूचकाङ्क एक दशमलव चार प्रतिशतले घट्यो।
टोकियो, साङ्घाई, ताइपेई र वेलिङ्टनका बजारमा पनि गिरावट भयो भने सिड्नी, जकार्ता र बैङ्ककमा वृद्धि देखायो। मनिला र क्वालालम्पुरका बजार भने स्थिर रह्यो।
यसैबीच, कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानीकर्ताको चासो बढिरहेका बेला विश्वकै मूल्यवान् कम्पनीमध्ये एक अमेरिकी चिप निर्माता एनभिडियाको आगामी आम्दानी प्रतिवेदनप्रति पनि बजारको ध्यान केन्द्रित भयो। एआई प्रविधिको तीव्र विस्तारले कम्पनीहरूको उच्च लगानीलाई निरन्तरता दिन सक्ने वा नसक्ने विषयमा लगानीकर्ता आशावादी र चिन्तित दुवै देखियो।
एसपीआई एसेट म्यानेजमेन्टका स्टेफन इनिसले एआई क्षेत्रमा लगानी जारी रहे पनि त्यसको लागत बढ्दै गएको बताए। उनका अनुसार एनभिडियाले ठूलो लगानीबाट प्रतिफल प्राप्त गर्न सक्ने क्षमता प्रमाणित गर्नुपर्ने चुनौती छ।
चिनियाँ प्रविधि कम्पनी अलिबाबाले पनि एआई क्षेत्रमा लगानी विस्तार गर्न आइतबार हङकङमा १० दशमलव दुई अर्ब अमेरिकी डलर बराबरको नयाँ शेयर निष्कासन गर्ने योजना सार्वजनिक गर्यो। कम्पनीले उक्त रकम आफ्नो विश्वव्यापी एआई पूर्वाधार र प्रविधि विस्तारमा प्रयोग गर्ने जनाएको छ।
हङकङको सेयर बजार सोमबार दुई प्रतिशतभन्दा बढीले घट्यो। ‘फास्ट फेसन’ कम्पनी शिनले आगामी सेप्टेम्बर १ मा हङकङमा शेयर सूचीकरण गर्ने घोषणा गरे पनि बजारमा त्यसको सकारात्मक प्रभाव देखिएन। कम्पनीको सूचीकरणबाट मूल्याङ्कन करिब २७ अर्ब डलर पुग्ने अनुमान गरिएको छ।
यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि थप आर्थिक दबाब बढाउने योजनाबारे सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने अपेक्षा गरिएको छ। अमेरिकाले आफ्ना सहयोगी राष्ट्र तथा चीनलाई पनि उक्त अभियानमा सहभागी हुन आग्रह गर्यो।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानमाथि आर्थिक दबाब बढाउने योजना ‘नाजुक नृत्य’ जस्तै भएको टिप्पणी गरे। बेसेन्टले चीनलाई पनि अमेरिकी अभियानमा सहमत हुन आग्रह गरे।
यसैबीच, ब्रेन्ट कच्चा तेलको मूल्य दुई दशमलव तीन प्रतिशतले घटेर प्रतिब्यारेल ९२ डलर आसपास पुग्यो। अमेरिकी कच्चा तेलको मूल्यमा पनि समान दरले गिरावट आयो।
लगानीकर्ताको ध्यान यस साता अमेरिकाको ज्याक्सन होलमा हुने केन्द्रीय बैङ्कका अधिकारी, अर्थशास्त्री तथा वित्तीय क्षेत्रका प्रमुखहरूको वार्षिक भेलातर्फ पनि केन्द्रित भएको छ। उनीहरूले अमेरिकी मौद्रिक नीतिको आगामी दिशाबारे थप सङ्केतको अपेक्षा व्यक्त गरे।
अमेरिकी मुद्रास्फीति र बढ्दो सरकारी ऋणका कारण अमेरिकी ट्रेजरी बन्डको प्रतिफलमा वृद्धि भयो। अमेरिकाको सङ्घीय ऋण ४० ट्रिलियन डलरभन्दा माथि पुगेको बताइएको छ।
भदौ ८, २०८३ सोमबार १४:५८:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।