नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, परीक्षण सञ्चालन सुरू

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, परीक्षण सञ्चालन सुरू

काठमाडौं : नागढुंगा सुरुङमार्गमा सोमबारदेखि निजी सवारीसाधनका लागि पनि चरणबद्ध रूपमा परीक्षण सञ्चालन सुरु भएको छ।

सडक विभागका अनुसार, सोमबार बिहान ९ बजेदेखि ९ सिटसम्मका निजी सवारीसाधनलाई सुरुङमार्ग भएर काठमाडौं-धादिङ आवतजावत गर्न खुला गरिएको हो।

पहिलो चरणमा कार, जिप र भ्यानसहित ९ जनासम्म यात्रु क्षमता भएका निजी सवारी, सरकारी गाडी, एम्बुलेन्स तथा अन्य आपत्कालीन सवारीसाधनलाई बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइएको छ।

सुरुङमार्गको अवस्था र ट्राफिक व्यवस्थापनको मूल्याङ्कन गरेपछि एक-दुई दिनभित्रै दुईतर्फी आवागमन खुला गर्ने विभागको तयारी छ।

त्यसपछि सञ्चालन समय विस्तार गरी बिहान ७ बजेदेखि राति ८ बजेसम्म र क्रमशः बिहान ६ बजेदेखि राति १० बजेसम्म पुर्याउने योजना बनाइएको छ।

सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौं-नौबिसे खण्डको यात्रा समय निकै घट्ने, नागढुंगाको जाम कम हुने तथा यात्रु र ढुवानी सेवा सहज हुने अपेक्षा गरिएको छ।

करिब २४ अर्ब रुपैयाँ लागतमा बनेको यस सुरुङमार्गको गत साउन ११ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उद्घाटन गरेका थिए।

यसअघि २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यसको शिलान्यास गरेका थिए। ४२ महिनाभित्रै काम सम्पन्न गर्ने गरी सरकारले सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी ‘हाज्मा/आन्दो जेभी’लाई दिएको थियो।

तर, कोरोना महामारी, जग्गाको मुआब्जा विवाद तथा स्थानीयको खानेपानीलगायतका समस्याका कारण आयोजनाको म्याद चार पटकसम्म थपियो। जसले गर्दा शिलान्यास भएको झन्डै सात वर्षपछि मात्र सुरुङमार्ग सञ्चालनमा आएको हो।

भदौ ८, २०८३ सोमबार १४:१७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।