बालबालिकाविरुद्धको अपराधमा तानिएका बाराका एसपी भन्छन्- प्रहरी जवानको हकमा म कारबाही गर्छु; केन्द्रीय प्रहरी प्रवक्ता भन्छन्- बुझ्ने काम हुँदैछ
काठमाडौं : बारामा ३ वर्षीया बालिकाको बलात्कार र हत्या घटनाका आरोपीको पहिचान खुलाएको, पत्रकार सम्मेलनमा सार्वजनिक गरेको र बयानसम्म सार्वजनिक भएको घटनामा जोडिएका जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले यो घटनामा प्रहरी जवानको हकमा आफूले कार्वाही गर्ने बताए। जस्तोसुकै अपराधको अनुसन्धानमा पक्राउ परे पनि नाबालिगको हकमा सार्वजनिक गर्नु, हतकडी लगाउनु कानुन विपरीत काम हो।
एसपी कुँवरसहित बारा प्रहरीले प्रहरीको नियन्त्रणमा रहेका १६ वर्षका कानुनी विवादमा तानिएका नाबालिगलाई पत्रकार सम्मेलनमा सार्वजनिक गराउने, हतकडी लगाउने र घटनाबारे उनीसँग भएको सोधपुछको भिडियो खिचेर सार्वजनिक गर्ने घटनासम्म जोडिए। यसबारे उकेराले एसपी कुँवरलाई कानुन विपरीतका यस्ता काममा प्रहरी नै किन संलग्न भयो भनेर प्रश्न सोधेको थियो।
उनले बयानको भिडियो प्रहरी हिरासतको नभएर मेडिकल चेकअप गराउन लग्दाको भएको दाबी गर्दै यसबारे छानबिन भइरहेको बताए। प्रहरी कार्यालयले मेडिकल स्वास्थ्य परीक्षण गर्न लैजाँदा, कलैया अस्पतालको ओसीएमसीको कार्यकक्षको भिडियो बाहिरिएको उनले बताए।
उकेराले भिडियो प्रहरी जवानले नै खिचेको, पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको र हतकडी समेत लगाएकोबारे पूरक प्रश्न सोध्यो। उनले यी प्रश्नमा प्रहरी जवानको हकमा कारबाही हुने र आफ्नो जिम्मेवारीको विषयमा माथिल्लो निकायले निर्णय लिने जवाफ दिए।
उनले भने, “अब प्रहरी जवानहरूको हकमा पनि कार्वाही हुन्छ। अब यसरी किन लियो भन्ने किसिमले अनुसन्धान गर्छौँ। मेरो विषयमा ठिक छ, यस विषयमा जिम्मेवारीको हिसाबले कत्तिको जवाफदेही बहन गर्नुपर्ने हो, बहन गर्न तयार छु” उनले भने।
बारा प्रहरी आफैँ बालबालिका सम्बन्धी कानुन विपरीत दण्डनीय गतिविधिमा संलग्न रहेको प्रमाणहरू सार्वजनिक भएकोबारे प्रहरी प्रधान कार्यालयका प्रवक्ता अभिनारायण काफ्लेसँग बुझ्दा उनले अनुसन्धान भइरहेको मात्रै बताए।
उनले भने “हामी यस विषयमा बुझ्दै छौँ। प्रहरीबाट होइन कि भन्ने आएको छ। यसमा प्रहरीहरू देखा परेका छन्। प्रहरीहरूले देखा पर्नु भनेको त प्रहरीले खिचेको भन्न मिलेन नि त।” उकेराको पत्रकार सम्मेलन त एसपी कुँवरकै निर्देशनमा भएको होला नि भन्ने प्रश्नमा प्रवक्ता काफ्ले भन्छन्, “यस विषयमा मैले डिआइजी साबलाई भनेको हामी बुझ्छौँ डिटेलमा है।”
के छ कानुनी व्यवस्था?
एसपी कुँवरसहित बारा प्रहरीको यो काम बालबालिकासम्बन्धी ऐन, २०७५ को ठाडो उल्लङ्घन हो। यसले सर्वोच्च अदालतको परमादेशको अवहेलना समेत भएको छ।
बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा १९ ले अनुसन्धानको क्रममा रहेका बालबालिकाको नाम, ठेगाना, तस्बिर वा पहिचान खुल्ने कुनै पनि विवरण सार्वजनिक गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। तर बाराको केशमा भने पीडित र पिडक दुवैको फोटो/ भिडियो नै सार्वजनिक भएको छ। जसमा पिडकको हकमा प्रहरीले पत्रकार सम्मेलन नै गरेको थियो।
कानुनले स्पष्ट भन्छ- ‘यदि कसैले यो नियम तोड्छ भने दफा ६६ (घ) अनुसार त्यो कसुर हो र दफा ६९ बमोजिम त्यस्तो कार्य गर्नेलाई ६० हजार रुपैयाँसम्म जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुन्छ।’
अर्को तर्फ २०७९ साउन २४ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले स्पष्ट परमादेश जारी गरेको छ, ‘पक्राउ पर्ने बित्तिकै अभियुक्तलाई पत्रकार सम्मेलन गरेर मिडियासामु सार्वजनिक गर्ने काम बन्द गर्नु।’
अदालतले दोषी प्रमाणित नभएसम्म व्यक्ति ‘निर्दोष’ मानिने संवैधानिक हक (धारा २० को ५) र गोपनीयताको हक (धारा २८) को सम्मान गर्न प्रहरीलाई कडा निर्देशन दिएको थियो।
सम्बन्धित समाचार
भदौ ८, २०८३ सोमबार १३:४९:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।