नाडा अटो शो : नेपालमै बनेको ‘यात्री’ स्कुटरसहित डेढ दर्जन नयाँ दुईपाङ्ग्रे सार्वजनिक हुँदै

नाडा अटो शो : नेपालमै बनेको ‘यात्री’ स्कुटरसहित डेढ दर्जन नयाँ दुईपाङ्ग्रे सार्वजनिक हुँदै

काठमाडौं : भदौ ९ गतेदेखि सुरु हुन गइरहेको १८औं नाडा अटो शोमा नेपालमै बनेको विद्युतीय स्कुटरसहित डेढ दर्जनभन्दा बढी नयाँ दुईपाङ्ग्रे सवारीसाधन सार्वजनिक हुने भएका छन्। यसपटकको प्रदर्शनीमा ११ कम्पनीका १३ वटा ब्रान्डले सहभागिता जनाउँदै छन्।

अटो शोको मुख्य आकर्षण नेपाली सीप, पुँजी र इन्जिनियरिङमा तयार भएको ‘मेड इन नेपाल’ विद्युतीय स्कुटर ‘यात्री पी टु’ हुनेछ। सिप्रदी यात्री प्रालिले यस स्कुटरलाई नाडा अटो शोबाटै बिक्री सुरु गर्ने तयारी गरेको छ।

यसबाहेक एमएडब्लू राइजअन्तर्गतको यामाहा नेपालले ‘एक्सएसआर’ सहित ४ वटा नयाँ मोडल सार्वजनिक गर्दैछ भने सीजी मोटर्सले १६० सीसीको जुम स्कुटर, १२५ सीसीको ग्ल्यामर एक्स र २५० सीसीको एक्सट्रिम मोटरसाइकल सार्वजनिक गर्दैछ।

यसका अलावा सीजी मोटर्सकै अर्को ब्रान्ड भिडाले भीएक्स जेड स्कुटर र केथ्री डट मिनी मोटरसाइकल प्रदर्शनीमा राख्नेछ भने नेपालमै विद्युतीय दुईपाङ्ग्रे एसेम्बल गरिरहेको यस कम्पनीले ५ वटा नयाँ विद्युतीय स्कुटर मोडल सार्वजनिक गर्दैछ।

अल्फा अटोमोटिभले भर्खरै बजारमा ल्याएको नयाँ ‘क्लासिक’ मोडल प्रदर्शनीमा राख्नेछ।

प्रदर्शनीमा क्यूजे मोटर्स, जोनसेन, भेस्पा, अप्रिलिया, एम्पियर, रिभोल्ट र मेटा ईभी लगायतका ब्रान्डको पनि सक्रिय उपस्थिति रहनेछ।

ठूलो सङ्ख्यामा नयाँ मोडल र विद्युतीय सवारी सार्वजनिक हुन लागेको यस अटो शोले नेपाली बजारमा स्थानीय एसेम्ब्ली र नयाँ प्रविधिप्रतिको बढ्दो चासोलाई झल्काउने अपेक्षा गरिएको छ।

भदौ ८, २०८३ सोमबार १३:२३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।