राहुल गान्धीले ‘पितृसत्ता अन्त्य गरौँ’ भन्ने अभिव्यक्ति दिएपछि पूर्व भाजपा प्रवक्ताले भने, "महिला विरोधी सोचलाई समर्थन गरेर बकवास नगर"
एजेन्सी : भारतीय कांग्रेसका नेता तथा सांसद राहुल गान्धीले ‘पितृसत्ता अन्त्य गर्नुपर्ने’ अभिव्यक्ति दिएपछि भारतीय जनता पार्टी (भाजपा) र भाजपाका पूर्व प्रवक्ता शहजाद पूनावालाले उनको आलोचना गरेका छन्।
पुणेमा आयोजित ‘छात्रों की गुन्ज’ (विद्यार्थीको आवाज) कार्यक्रममा राहुल गान्धीले पितृसत्ता अन्त्य गर्नुपर्ने बताएका थिए। उक्त अभिव्यक्तिमाथि प्रतिक्रिया दिँदै पूनावालाले गान्धी र कांग्रेसमाथि नै ‘महिला विरोधी सोच, लैंगिक भेदभाव र पितृसत्तात्मक मानसिकता’लाई समर्थन गरेको आरोप लगाए।
पूनावालाले सामाजिक सञ्जालमार्फत गान्धीलाई लक्षित गर्दै लेखेका छन्, "तपाईं र सन्दीप दीक्षितले इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीमाथि गरेको भद्दा टिप्पणीमार्फत महिला विरोधी सोच, लैंगिक भेदभाव र पितृसत्तालाई नै समर्थन गर्नुभएको थियो। त्यसैले बकवास गर्न बन्द गर्नुहोस्।"
यसअघि बुधबार पनि पुनावालाले सामाजिक सञ्जाल 'एक्स' मा लेखेका थिए, "म जीवित रहेसम्म राहुल गान्धी कहिल्यै भारतको प्रधानमन्त्री बन्न सक्ने छैनन्। तरिका बदलिएको छ, उद्देश्य होइन।"
भाजपाको गम्भीर आरोप
भाजपाले कांग्रेसले महिलाको अधिकारका विषयमा लामो समयदेखि विरोधाभासी तथा महिला विरोधी धारणा राख्दै आएको आरोप लगाएको छ। भाजपाले कांग्रेसले महिला आरक्षण विधेयक, तीन तलाक विधेयक र राष्ट्रपति पदका लागि द्रौपदी मुर्मूको उम्मेदवारीको विरोध गरेको दाबी गरेको छ।
यसका साथै, कांग्रेस नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीकी दिवङ्गत आमामाथि गालीगलौजपूर्ण टिप्पणी गरेको र वरिष्ठ नेताहरूले पटक-पटक महिलाविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको आरोप पनि भाजपाले लगाएको छ।
भाजपाका सबै पदबाट राजीनामा दिइसकेका पूनावालाले आफू जीवनभर प्रधानमन्त्री नरेन्द्र मोदीको अनुयायी रहने बताएका छन्। पदबाट राजीनामा दिए पनि उनले कांग्रेस र राहुल गान्धीमाथिको आफ्नो राजनीतिक आक्रमण भने जारी राखेका छन्।
शहजाद पूनावालाले २००८ तिर कांग्रेसबाटै राजनीतिक यात्रा सुरु गरेका थिए। तर सन् २०१७ मा उनले कांग्रेस पार्टी छोडेका थिए। कांग्रेसको आन्तरिक अध्यक्ष निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै उनले उक्त निर्वाचन राहुल गान्धीको पक्षमा ‘पहिल्यै मिलाइएको’ आरोप लगाएका थिए। त्यसै वर्ष पूनावाला भाजपामा प्रवेश गरेका थिए।
भदौ ८, २०८३ सोमबार १२:२७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।