निजी क्षेत्रप्रति अविश्वास र शंकाको दृष्टिकोणले देशमा आर्थिक विकास हुँदैन : अध्यक्ष श्रेष्ठ
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास बढाउन र व्यवसायीहरूको आत्मविश्वास निर्माण गर्नुपर्ने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिले निजी क्षेत्रको आत्मविश्वास इतिहासकै न्यून अवस्थामा पुगेको बताए। निजी क्षेत्रप्रति अविश्वास र शंकाको दृष्टिकोण राखेर देशको आर्थिक विकास सम्भव नहुने उनको भनाइ छ।
"समस्या थुप्रै छन्, तर सबैभन्दा पहिलो कुरा त निजी क्षेत्रलाई विश्वास गर्नुपर्यो, निजी क्षेत्रको कन्फिडेन्स बढाइदिनुपर्यो। अहिलेको समयमा निजी क्षेत्रको कन्फिडेन्स इतिहासमै एभर लो अवस्थामा छ," श्रेष्ठले भने, "पछिल्लो पटक भएका घटनाहरूले निजी क्षेत्र झन् त्रसित छ, युवाहरू झन् त्रसित छन्।"
सरकारले उद्योग सञ्चालन गर्नु गलत नभए पनि एउटा उद्योगलाई मात्रै केन्द्रमा राखेर औद्योगीकरणको नीति बनाउन नहुने उनको भनाइ छ। हेटौँडा कपडा उद्योग सञ्चालनका विषयमा मन्त्रीले निजी क्षेत्रले उद्योग बन्द गराउन खोज्न सक्ने आशंका व्यक्त गरेको प्रसंग उल्लेख गर्दै उनले त्यस्तो मानसिकताले देशमा औद्योगीकरण हुन नसक्ने टिप्पणी गरे।
"डराउनै पर्दैन, नेपालमा झाँक्रीहरू थुप्रै छन्, लगेर फुकफाक गरे हुन्छ। नभए खुर्सानी र कागती झुण्ड्याए पनि हुन्छ, कसैको आँखा लाग्दैन। तर यस्तो सोच बनाएर देशमा औद्योगीकरण हुँदैन। नेतृत्व लिनेहरूले यस्तो सोच लिनु हुँदैन," उनले भने।
भदौ ७, २०८३ आइतबार १६:४५:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।