अटो बजारको ठूलो मेला 'नाडा अटो शो' को तयारी तीव्र
काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा भदौ ९ गतेदेखि सुरु हुने 'नाडा अटो शो २०२४' को तयारी तीव्र पारिएको छ।
काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने १६औँ संस्करणको प्रदर्शनीका लागि हाल स्टल निर्माण कार्य भइरहेको छ। नाडाको स्वर्ण जयन्तीका अवसरमा आयोजना हुन लागेको प्रदर्शनीमा कुल ५३ वटा सवारी साधनका ब्रान्डहरूले सहभागिता जनाउँदै छन्।
जसमा २३ वटा चार पाङ्ग्रे (यात्रुवाहक), १७ वटा हल्का व्यावसायिक र १३ वटा दुई पाङ्ग्रे सवारी ब्रान्डहरू रहने आयोजकले जनाएको छ।
प्रदर्शनीमा सवारी साधनका साथै अटो पार्ट्स, टायर, लुब्रिकेन्ट्स, ब्याट्री, चार्जिङ पूर्वाधार र ग्यारेज उपकरणका गरी २०० भन्दा बढी स्टलहरू रहनेछन्। यस प्रदर्शनीमा विशेष आकर्षणका रूपमा ‘मेड इन नेपाल र मेड फर नेपाल’ प्याभिलियन रहनेछ।
उक्त प्याभिलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारी साधन, विद्युतीय सवारी (ईभी), ब्याट्री र हेल्मेट लगायतका सामग्रीहरूको प्रवर्द्धन गरिनेछ। प्रदर्शनीमा ७५ वटा स्टल अटो कम्पोनेन्ट र सेवा प्रदायकका लागि छुट्याइएको छ, जहाँ बैंक, वित्तीय संस्था र बिमा कम्पनीहरूको समेत सहभागिता रहनेछ।
भदौ १४ गतेसम्म चल्ने प्रदर्शनीको लागि हाल प्रदर्शनीस्थलमा विद्युत्, प्रकाश, डिजिटल डिस्प्ले र ब्रान्डिङका प्राविधिक कामहरू भइरहेका छन्।
भदौ ७, २०८३ आइतबार ०९:२६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।