बारामा हत्या गरिएकी तीन वर्षीया बालिकाका परिवारसँग गृह मन्त्रालयमा वार्ता जारी
काठमाडौं : बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिकाका आमा-बुबा र गृहमन्त्री सुधन गुरुङबीच अहिले गृह मन्त्रालयमा वार्ता भइरहेको छ।
बालिकाको हत्या घटनाको सूक्ष्म अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गर्दै बारा, काठमाडौंलगायत जिल्लामा प्रदर्शन भइरहेको छ।
सिमरा विमानस्थलबाट शनिबार दिउँसो काठमाडौं ओर्लिएका मृतक बालिकाका बुबा मनोज चौधरी र आमा मानमती चौधरीलाई गृह मन्त्रालय पुर्याइयो। मन्त्रालयमा भइरहेको वार्तामा पीडित परिवारका माग र घटनाको अनुसन्धानको अवस्थाबारे विस्तृत कुराकानी भइरहेको बताइएको छ।
साउन ३१ गते बिहान साढे ८ बजे जितपुरसिमरा उपमहानगरपालिकास्थित घरबाटै हराएकी बालिकाको बलात्कारपछि हत्या भएको अवस्थामा तीन दिनपछि शव भेटियो। प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई युवकलाई पक्राउ गरेर अनुसन्धान थालेको छ।
भदौ ६, २०८३ शनिबार २०:०१:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।