प्रचण्डको संगठनात्मक शैलीमाथि पम्फाको प्रहार- ‘न जनवादको अभ्यास छ, न कम्युनिस्ट चरित्र’
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीकी नेत्री पम्फा भुसालले भद्दा सङ्गठनात्मक संरचना र पदप्रतिको बढ्दो आशक्तिका कारण कम्युनिस्ट पार्टीको मौलिक चरित्र र आन्तरिक जनवाद संकटमा परेको बताएकी छन्।
पार्टीको कोसी प्रदेश समितिले शनिवार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले दुई हजार ४९९ सदस्यीय केन्द्रीय समिति र ४५ सदस्यीय पदाधिकारी तहको संरचनाले कम्युनिस्ट पार्टीको उद्देश्य र कार्यशैलीलाई प्रतिनिधित्व गर्न नसक्ने जिकिर गरिन्।
"एकताका नाममा बनेको भद्दा सङ्गठन जहाँ करिब करिब जनवादको अभ्यास नै छैन," उनले भनिन्, "समिति यति ठूला बनेर गएका छन्, जहाँ दोहोरो संवाद करिब करिब हुन्न। दोहोरो संवाद हुने गरेर हाम्रा कमिटी बनेका छैनन्।"
उनले पछिल्लो समय पार्टीभित्र त्याग, आदर्श र निष्ठाको सट्टा पद प्राप्तिको आकाङ्क्षा हाबी भएको बताइन्। खुला प्रतिस्पर्धाको राजनीतिको प्रभावका कारण नेतृत्वदेखि कार्यकर्तासम्म 'त्याग गर्ने'भन्दा पनि 'पद ओगट्ने' प्रवृत्ति बढेको उनको टिप्पणी थियो।
सङ्गठनलाई वैज्ञानिक र छरितो बनाउँदै पार्टीभित्र नियमित संवाद र जनवादी अभ्यासलाई पुनः स्थापना गर्नुपर्नेमा उनको जोड थियो। "सङ्गठनात्मक संरचना जुन एउटा कम्युनिस्ट पार्टीको हुने हो, त्यो प्रकारको छैन। यो कम्युनिस्ट पार्टी बन्ने बाटो चाहिँ होइन," भुसालले भनिन्, "यस्ता सङ्गठन कम्युनिस्ट पार्टीका हुन्नन्।"
भदौ ६, २०८३ शनिबार १६:३७:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।