महाधिवेशन रोक्न अदालत पुगेको समूहलाई विश्वप्रकाशको आग्रह : ‘निकास सानेपामै छ’
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र उत्पन्न विवाद र असहमतिको समाधान अदालतमा नभई पार्टी कार्यालय सानेपाबाट खोजिनुपर्ने बताएका छन्।
प्रदीप गिरिको चौथो वार्षिकीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको अधिवेशन तयारी भइरहेका बेला असहमति बोकेर अदालत जाने नभई पार्टीको कार्यालयबाट समाधान खोज्नुपर्ने धारणा राखे।
पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले आफ्नो अघिल्लो फैसला पुनरावलोकन गर्ने आदेश गरेसँगै हौसिएको कांग्रेस संस्थापन इतर समूह पार्टीको महाधिवेशन रोक्न माग गर्दै पुन अदालत पुगेको छ। कांग्रेसले निर्वाचन समितिले १५औँ महाधिवेशन कार्यतालिका सार्वजनिक गरेपछि यति बेला पूर्व सभापति शेरबहादुर देउवा पक्ष दबाबमा छ।
महाधिवेशन रोक्न अदालत पुगेको उक्त समूहतर्फ लक्षित गर्दै शर्माले आज प्रदीप गिरि भएको भए राजनीतिक दलभित्रका विवाद पार्टी कार्यालयमै समाधान खोज्न सुझाव दिन सक्ने पनि बताए। तर, कुनै पनि व्यक्ति वा राजनीतिक दललाई अदालत जाने अधिकारबाट निरुत्साहित गर्न नमिल्ने उनले बताए।
"कांग्रेसको सानेपाबाट अधिवेशनको तयारी हुँदै गर्दा अर्कोतर्फ भेला गरेर असहमतिहरू राख्दै अदालतको ढोका ढकढक्याउँदै गर्दा सायद प्रदीप दाइले भन्नुहुन्थ्यो होला राजनीतिक दलहरूबीचको विवादको समाधानको खोजी पार्टी कार्यालयभित्रको कोठामा गर्नुस्, अदालतको ढोकामा होइन," शर्माले भने।
यद्यपि अदालतले संविधान र राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थालाई गम्भीरतापूर्वक हेर्ने उनले विश्वास व्यक्त गरे। "पार्टीका आदरणीय नेताहरू जानुभयो, रिट दर्ता गर्न जानुभयो," शर्माले भने, "तर सम्मानित सर्वोच्च अदालतका न्यायमूर्तिहरूले टेबुलमा बसेर अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्दा नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनका व्यवस्थालाई पनि गम्भीरतापूर्वक हेर्नुहुन्छ।’
भदौ ६, २०८३ शनिबार १६:००:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।