‘बारुलाहरूसँग डराएर देश यिनीहरूलाई जिम्मा लगाउन सकिँदैन’
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले विदेशी शक्तिको आडभरोसामा चलेको र लोकतन्त्रको अपहरण गरेको आरोप लगाउँदै वर्तमान सरकार पाँच वर्ष नटिक्ने दाबी गरे।
भक्तपुरको नगरकोटमा शनिबारदेखि सुरु भएको ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’लाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले संविधान मिचेको र जनमतलाई त्रसित बनाएर शासन सत्ता हातमा लिएकाले यसको आयु लामो नभएको बताए।
"हाटहुट, लाटलुट, जनतालाई तर्साएर, थर्काएर, बोल्न नसक्ने बनाएर, जेसुकै गरेर, बाकस साटेर ल्याएर, बहुमत ल्याएको देखाइयो," ओलीले थपे, "यो सरकार तपाईंहरूलाई भन्दिएँ- पाँच वर्ष कुनै हालतमा जाँदैन।"
सरकारले राज्य शक्तिको दुरुपयोग गरी प्रतिशोधपूर्ण ढंगले व्यवसायी र विपक्षी समर्थकहरूलाई आतंकित पारेको उनको भनाइ छ। बैंक खाता रोक्का गर्ने र कारोबार बन्द गराउने जस्ता कार्यले देशलाई गम्भीर आर्थिक संकटमा पुर्याउने उनले बताए। व्यवसायीको कारोबार रोकिदिँदा त्यसको प्रत्यक्ष असर उद्योग-व्यवसाय, मजदुर, बैङ्क ऋण र घरभाडासम्म पर्ने उनको भनाइ थियो।
ओलीले सरकार र उसका समर्थकहरूले सामाजिक सञ्जालमार्फत सत्य बोल्नेहरूमाथि संगठित आक्रमण गरिरहेको टिप्पणी गरे। उनले आफ्नो पार्टीका कार्यकर्ताहरूलाई डराउनुको सट्टा तथ्यका आधारमा जनजीविकाका पक्षमा उभिन निर्देशन दिए। मुलुकको सुशासन, विकास र परराष्ट्र नीतिलाई पुनः सही दिशामा ल्याउन एमालेको नेतृत्व अपरिहार्य रहेको उनको भनाइ थियो।
"मैले यस्ता बारुला मात्रै होइन, कति अरिङ्गाल खाएको छु। यी बारुलासँग म डराउँछ भन्ने कुरा उनीहरूलाई पनि लाग्दैन," ओलीले भने, "तर अरूलाई तर्साउनका लागि केपी ओलीलाई समातेर थुनियो भने अरूको के हुन्छ? भनेर थर्कमान बनाउन खोजियो। यी बारुलाहरूले एक ठाउँमा यसो चिल्लान्, त्यो केही पनि हुँदैन, एकछिन दुख्ने हो। यी बारुलासँग डराएर देश सधैँ यिनीहरूका जिम्मा लगाउन सकिँदैन।"
भदौ ६, २०८३ शनिबार १५:३७:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।