बालिका बलात्कारपछि हत्या घटनाका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
काठमाडौं : बाराको जितपुरसिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कानुनी कारबाहीको माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ।
इन्डिपेन्डेन्ट मदर्स अफ नेपालको आह्वानमा अधिकारकर्मी र सर्वसाधारणले काठमाडौंको शान्तिवाटिकादेखि नारायणहिटी दरबार क्षेत्रसम्म विरोध प्रदर्शन गरियो। प्रदर्शनको क्रममा प्रहरीसँग प्रदर्शनकारीहरूको धकेलाधकेल समेत भएको थियो।
प्रदर्शनका क्रममा सहभागीहरूले 'बलात्कारीलाई फाँसी दे', 'हाम्रो छोरी, हाम्रो शान' र 'कानुन मन्त्री चाहिन्छ' जस्ता नारा लगाइयो। प्रदर्शनमा सहभागी अञ्जु सुवेदीले बालिका तथा महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउन आफू प्रदर्शनमा सहभागी भएको बताइन्।
उनले भनिन्, "हामीले आफ्नै छोरी-नातिनीमाथि यस्तो घटना भएको भए के गथ्र्यौं भन्ने सोचेर म यहाँ आएकी हुँ। हामीले आवाज उठाउनुपर्छ। अबको सरकारले बलात्कारजस्तो अपराध गर्ने सोच नै नआउने गरी कडा नीति बनाउनुपर्छ। गरिमा चौधरीले न्याय पाउनुपर्छ। आगामी दिनमा छोरीचेली सुरक्षित होउन् भन्ने चाहना हो।"

त्यस्तै, प्रदर्शनमा सहभागी अमृता गिरीले यस्ता घटना दोहोरिन नदिन आफूहरू शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताइन्। उनले भनिन्, "यस्ता घटना नहोस् भनेर यहाँबाट शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका छौं। अहिलेको सरकारले महिला तथा छोरीचेलीले स्वतन्त्र र सुरक्षित रूपमा बाँच्न पाउने वातावरण निर्माण गर्नुपर्छ।"

भदौ ६, २०८३ शनिबार १४:५८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।