मोबाइल नकिनिदिएपछि महाराष्ट्रका १८ वर्षीय किशोरले पहाडबाट हाम फाले, बचाउन खोज्दा आमाबुवाको पनि खसेर मृत्यु

मोबाइल नकिनिदिएपछि महाराष्ट्रका १८ वर्षीय किशोरले पहाडबाट हाम फाले, बचाउन खोज्दा आमाबुवाको पनि खसेर मृत्यु

एजेन्सी : भारतको महाराष्ट्रस्थित छत्रपति सम्भाजीनगरमा मोबाइल फोन किनिदिन मागेको विषयमा आमाबुबासँग विवाद भएपछि १८ वर्षीय किशोरले पहाडबाट हाम्फाल्दा उनलाई बचाउन गएका उनका आमाबुबाको पनि खसेर मृत्यु भएको छ।

प्रहरीका अनुसार तिसगाउँ क्षेत्रस्थित खवाड्या पहाडमा शुक्रबार दिउँसो उक्त घटना भएको हो।

शुक्रबार दिउँसो भएको घटनाले पूरै गाउँलाई स्तब्ध बनाएको छ। प्रहरीका अनुसार किशोरले मोबाइल फोन मागेपछि आमाबुबासँग विवाद भएको थियो। विवादपछि उनी शुक्रबार बिहान करिब १० बजे खवाड्या पहाडतर्फ गएका थिए। उनका आमाबुबा पनि उनलाई पछ्याउँदै त्यहाँ पुगेका थिए।

तीन घण्टासम्म किशोरलाई सम्झाउने प्रयास असफल

शुक्रबार बिहान करिब १० बजे मोबाइलको विषयमा विवाद भएपछि रिसको झोकमा किशोर घरनजिकैको पहाडतर्फ गएका थिए। उनलाई पछ्याउँदै र सम्झाउनका लागि उनका आमा-बुबा पनि पहाडमा पुगेका थिए।

किशोर पहाडको भिरमा उभिएर हामफाल्ने धम्की दिन थालेपछि स्थानीय बासिन्दा, प्रहरी, दमकल टोली र गाउँका सरपञ्च उद्धारका लागि घटनास्थल पुगेका थिए। सरपञ्च र उद्धार टोलीले उनलाई बचाउन करिब तीन घण्टासम्म लगातार सम्झाउने प्रयास गरेका थिए। गाउँका सरपञ्चले उनलाई विभिन्न आश्वासन दिँदै गाउँ फर्किन आग्रह गरेका थिए। 

गाउँका सरपञ्चले उनलाई गाउँ फर्किएमा जे चाहिन्छ त्यही किनिदिने आश्वासन दिँदै भावुक अपिलसमेत गरेका थिए।

सरपन्चले भनेका थिए, "ए भाइ, म गाउँको सरपन्च हुँ। हिँड, तिमीलाई जे चाहिन्छ हामी ल्याइदिन्छौँ। गाउँ फर्कौँ।"

उनले किशोरलाई भावुक अपिलसमेत गरे। “तिमी हाम्फालेर के हासिल गर्नेछौ? तिम्रो नाम ठूलो बन्ने हो र? कम्तीमा आमाको लागि त बाँचिदेऊ!” भन्दै सरपञ्चले उनलाई जीवन रोज्न आग्रह गरेका थिए।

तर किशोर कुनै पनि आग्रहबाट प्रभावित भएनन्। उनले “होइन, मैले मर्नैपर्छ। अब यही मात्र उपाय बाँकी छ” भन्ने जवाफ दिएको बताइएको छ।

उद्धारको प्रयास असफल

उद्धार टोलीले पहाडको फेदीमा सुरक्षा जाली राख्ने प्रयास पनि गरेका थिए। तर, किशोरले भिरको किनारमा लगातार आफ्नो स्थान बदलिरहेकाले उनी कहाँबाट हामफाल्छन् भन्ने अनुमान लगाउन उद्धारकर्मीहरूलाई कठिन भएको थियो।

प्रहरीका अनुसार दिउँसो १ बजेतिर किशोरका बुबाले भिरको किनार नजिकै पुगेर हात जोड्दै पछाडि हट्न बिन्ती गरिरहेका थिए। तर, किशोरले अचानक हामफालेपछि उनलाई समातेर बचाउने क्रममा बुबाको पनि सन्तुलन बिग्रिएर उनीसँगै तल खसे। आफ्ना श्रीमान् र छोरा आँखाअगाडि भिरबाट खसेको देखेपछि विक्षिप्त बनेकी आमाले पनि लगत्तै पहाडबाट हाम फालिन्।

वालुज एमआईडीसी प्रहरी स्टेशनका इन्स्पेक्टर रामेश्वर गाडेका अनुसार, "दिउँसो १ बजेपछि किशोरका बुबा बिस्तारै उनीतर्फ बढे र भिरको किनारबाट पछाडि हट्न हात जोडेर बिन्ती गरे। तर, किशोरले अचानक किशोरले पहाडबाट हाम फाले। उनलाई समातेर बचाउने प्रयास गर्दा उनका बुबाको पनि सन्तुलन बिग्रेर तल खस्न पुगे।"

आफ्नो श्रीमान् र छोरा आँखाअगाडि पहाडबाट तल खसेको देखेपछि विक्षिप्त बनेकी आमाले पनि लगत्तै पहाडको चुचुरोबाट हाम फालिन्।

घटनास्थलमा रहेका तिसगाउँका पूर्वसरपञ्च सञ्जय जाधवले प्रशासन र स्थानीयवासीको सहयोगमा करिब तीन घण्टासम्म किशोरलाई सम्झाउने प्रयास गरिए पनि उनी कसैको कुरा सुन्ने अवस्थामा नरहेको बताए।

प्रहरीले तीनै जनाको शव पोस्टमार्टम तथा अन्य कानुनी प्रक्रियाका लागि अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भदौ ६, २०८३ शनिबार १२:३७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।