विपद्का चार महिना : पाँच हजारभन्दा बढी घटनामा २५० जनाको मृत्यु, ८ जना बेपत्ता
काठमाडौं : गत वैशाख १ देखि भदौ ५ गतेसम्मको चार महिनाको अवधिमा देशभर ५ हजारभन्दा बढी विपद्का घटना घटेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा पाँच हजार १४ विपद्का घटनामा परि २५० जनाले ज्यान गुमाएका छन् भने ८ जना बेपत्ता र १ हजार ६०७ जना घाइते भएका छन्।
विपद्का कारण देशभर छ हजार २७२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
यस अवधिमा सबैभन्दा बढी आगलागीका एक हजार १३६ घटना भएका छन्। यसैगरी, पहिरोका एक हजार ११, सर्पदंशका एक हजार १०, हावाहुरीका ४८०, चट्याङका २४५, बाढीका २७३ र भारी वर्षाका ३२० घटना भएका छन्।
प्राधिकरणका अनुसार भदौ ५ गते बिहान ११ बजेसम्म अद्यावधिक भएको विवरणमा जनावरको आक्रमणका २७२, लेक लाग्ने ५९, हिमपहिरोका दुई, डुङ्गा पल्टिने एक, वन डढेलोका १९१, विस्फोटनको एक, असिनाका चार र भूकम्पका चार घटना भएका उल्लेख छ।
यही भदौ ४ देखि ५ गते बिहान ८ बजेसम्मको विवरणअनुसार देशका विभिन्न भागमा ३३ विपद्का घटना भएका छन्। ती घटनामा एक जनाको मृत्यु, एक जना बेपत्ता र २३ जना घाइते भएका छन् भने १४५ जना प्रभावित भएका छन्।
प्राधिकरणले त्यस अवधिमा विपद्का कारण अनुमानित रु नौ लाख ७२ हजार बराबरको क्षति भएको तथा दुई स्थानमा सडक अवरुद्ध भएको जनाएको छ।
भदौ ६, २०८३ शनिबार ११:०२:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।