भ्याली ब्वाइज होस्टलमा युवकको हत्या : १८ वर्षीय किशोर पक्राउ, मुख्य आरोपी फरार
काठमाडौं : काठमाडौं महानगरपालिका-१० शङ्खमुलस्थित ‘भ्याली ब्वाइज होस्टल’मा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ।
हत्याको आरोपमा प्रहरीले एक किशोरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। ज्यान गुमाउनेमा दाङको घोराही उपमहानगरपालिका-१७ का २२ वर्षीय वसन्त कालाथोकी रहेका छन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार शुक्रबार बिहान होस्टलमै रहेका बेला उनीमाथि कुटपिट तथा धारिलो हतियार प्रहार भएको थियो।
गम्भीर घाइते भएका कालाथोकीलाई तत्काल उद्धार गरी मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।
एक पक्राउ, मुख्य आरोपी फरार
घटनालगत्तै प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले आक्रमणमा संलग्न रहेको अभियोगमा बाराको कलैया उपमहानगरपालिका-३ का १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ।
प्रारम्भिक अनुसन्धानका अनुसार घटनामा पक्राउ परेका किशोर र अर्का २० वर्षीय प्रमित पटेल मुख्य रूपमा संलग्न थिए। पटेल हाल फरार रहेकाले उनको तीव्र खोजी भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने आशङ्कामा प्रहरीले सोही होस्टलका थप पाँच जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
घटनाको कारण भने खुल्न सकेको छैन। प्रहरीले यस विषयमा विस्तृत अनुसन्धान अघि बढाएको छ।
भदौ ६, २०८३ शनिबार १०:४९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।