देशभर मनसुन सक्रिय : चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आह्वान
काठमाडौं : मनसुनी वायु र मनसुनको न्यून चापीय रेखाको प्रभावले यतिबेला देशभरको मौसम बदली भएको छ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो र राति देशभरको मौसम सामान्यदेखि पूर्णतया बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानका साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भेगमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ।
उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातसमेत हुन सक्नेछ।
विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र गण्डकी एवं लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा दिउँसो र राति भारी वर्षाको आकलन गरिएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, भूक्षय र गेग्रान बहावको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।
यसले सडक तथा हवाई यातायात, पर्यटन, कृषि र दैनिक जनजीवनमा समेत प्रत्यक्ष असर पार्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ।
मौसमसम्बन्धी जानकारी निरन्तर परिवर्तन भइरहने हुँदा महाशाखाको अद्यावधिक सूचनामा ध्यान दिन पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ।
भदौ ६, २०८३ शनिबार ०७:२२:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।