जहाँ माननीय आशिका, त्यहीँ लफडा
काठमाडौं : प्रतिनिधि सभाको बैठकमा सभामुखको रुलिङपछि फन्किँदै ब्याग बोकेर वाक आउट गरेर विवादमा तानिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले शुक्रवार स्थानीय समस्याबारे राखिएको छलफलमा उस्तै व्यवहार देखाइन्।
संसदमा सभामुख डीपी अर्यालले उनको शैली संसदीय मर्यादा अनुकूल नभएको भन्दै ध्यानाकर्षण गराएपछि उनी भुतभुताउँदै संसद् कक्षबाट बाहिरिएकी थिइन्। शुक्रवार उनी मन्त्री विक्रम तिमल्सिनाले बोलाएको छलफलमा मेयरहरूसँग बाझाबाझ गरिन् अनि अन्तमा सांसदकै शैलीमा भुतभुताउँदै ब्याक बोकेर छलफल कक्षबाट बाहिरिइन्।
उनको उदय नै सामाजिक सञ्जालको 'भाइरल' लोकप्रियताबाट भएको थियो। उनी प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न लागेपछि रास्वपाले धादिङको उम्मेदवार बनाएपछि सहजै जितिन्। तर हिजो सञ्जालमा उनको जस्तो अराजक शैली देखिन्थ्यो अहिले संसदमा पनि त्यो कायमै छ।
जनप्रतिनिधिको आडमा उनी जहाँ गयो त्यहीँ निहुँ खोज्ने गरेको घटनाक्रम सार्वजनिक भइरहेका छन्। निर्वाचित भए लगत्तै धादिङको स्थानीय पालिकालाई सडक दस्तुर कर उठाउनबाट रोक्न कार्यक्षेत्र बाहिर गएर निर्देशन दिएकी उनी जति विवाद भए पनि आफ्नो शैली र स्वभाव बदल्ने मुडमा देखिन्नन्।
संसदमा सभामुखसँग नोकझोक र 'झोला काण्ड'
केही दिनअघि प्रतिनिधि सभाको बैठकमा सांसद तामाङ र सभामुख डीपी अर्यालबीच तिखो नोकझोक भयो। संसदीय मर्यादा र नियम पालना गर्न सभामुखले पटक-पटक रुलिङ गर्दा पनि उनी संयमित हुन सकिनन्। उल्टै आक्रोशित हुँदै आफ्नो झोला बोकेर संसद् भवनबाट बाहिरिइन्।
सांसदजस्तो गरिमामय मञ्चमा देखाएको यो व्यवहारबारे पत्रकारहरूले प्रश्न गर्दा उनको प्रतिक्रिया झन् विवादास्पद बन्यो। उनले गैर जिम्मेवार शैलीमा भनिन् "झोला बोकेर पिसाब फेर्न जान नि नपाउनु?"
बञ्चरेडाँडा छलफलमा घम्साघम्सी
धादिङको प्रभावित क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद तामाङलाई सञ्चारमन्त्री विक्रम तिमल्सिनाले काठमाडौँ उपत्यकाका मेयरहरूसँगै बञ्चरेडाँडाको फोहोर व्यवस्थापनबारे छलफल गर्न बोलाएका थिए। तर, शुक्रवार राखिएको सो छलफल समस्याको निकासतर्फ अघि बढ्नुको साटो उनको आक्रोशका कारण विवादमा बदलियो।
छलफलमा समस्याको प्राविधिक वा नीतिगत समाधान खोज्नुको सट्टा उनले धादिङवासीलाई फोहोरमा राखेको भन्दै काठमाडौँ उपत्यकाका स्थानीय सरकार प्रमुखहरूलाई गाली गर्न थालिन्।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले "माननीयको शैली यस्तो हुँदैन, धम्की दिने काम नगरौँ" भनेर सम्झाउन खोज्दा आशिका टेबल ठोक्दै जङ्गिइन्। उनी निरन्तर आक्रामक बनेपछि अन्य मेयरहरू पनि उठे र टेबल ठोकेर उनको शैलीको प्रतिवाद गरे।
आफ्नै दल रास्वपाका मन्त्री तथा नुवाकोटका सांसद विक्रम तिमल्सिनाले स्थिति सम्हाल्न खोज्दा र मेयर चिरिबाबुले सहजीकरणको आग्रह गर्दा पनि उनी रोकिइनन्।
अन्ततः "अब छलफल यहाँ हुन्न, बन्चरेमै हुन्छ, फोहोर फाल्न दिन्न" भन्दै उनी पुनः सांसदकै शैलीमा झोला बोकेर फन्किँदै बैठक कक्षबाट बाहिरिइन्।
बालेनले झुक्क्याएको बञ्चरेडाँडा
बञ्चरेडाँडाको फोहोर र लिचेटको समस्या आजको होइन, पुरानै हो। यसलाई अनगिन्तीले राजनीतिक गोटी बनाए पनि दीर्घकालीन समस्या समाधान भने हुन सकेको छैन।
वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवार हुँदा यसैलाई आफ्नो निर्वाचनको प्रमुख एजेन्डा बनाएका थिए। फोहोरबाट मलदेखि ग्याँस प्लान्टसम्मका गफ दिएका उनी मेयरमा निर्वाचित पनि भए। तर, काठमाडौँको मेयरका रूपमा तीन वर्ष बिताउँदा पनि समस्याको ठोस समाधान नगरी उनी राष्ट्रिय राजनीतिमा होमिए।
आज पनि बञ्चरेडाँडावासी लिचेट र दुर्गन्धको ठूलो समस्या झेलिरहेका छन्। यस्तो संवेदनशील र जटिल विषयमा तर्कपूर्ण दबाब सिर्जना गर्नुको साटो सांसद तामाङ आक्रोश र वाकआउटतिर लागिन्।
जग नै विवाद र स्टन्ट
सामाजिक अभियन्ताका रूपमा उदाउँदै जेनजीको प्रतिनिधि बनेर प्रतिनिधि सभा सदस्य बनेकी आशिकाको पृष्ठभूमि हेर्ने हो भने विवाद र स्टन्ट नै उनको मुख्य हतियार देखिन्छ। अनुगमनको बहानामा उनले गर्ने अराजक गतिविधि प्राय विवादित र भाइरल हुने गरेका थिए।
विभिन्न सडक, होटल तथा व्यवसायीहरूलाई 'चेकिङ' गर्ने भन्दै क्यामेरा बोकेर पुग्ने उनी हिडन क्यामरा प्रयोग गरेर समेत विवादमा तानिइन्। साना व्यवसायी र कर्मचारीहरूमाथि जाइलाग्ने, गालीगलौज गर्ने र उनीहरूको अनुमतिविना भिडियो सामाजिक सञ्जालमा हालेर 'मिडिया ट्रायल' गर्ने आरोप उनीमाथि निरन्तर लागिरह्यो।
पशुपति क्षेत्र विकास कोषको परिसर र स्वयम्भू क्षेत्रमा सर्वसाधारण तथा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा उनी विरुद्ध मुद्दा दर्ता भई प्रहरीले पक्राउ गरेको थियो। भक्तपुरको सूर्यविनायक नगरपालिकाले साँगाको झोलुङ्गे पुलमा शुल्क सङ्कलनका लागि बनाएको भौतिक संरचना र सूचना पाटी तोडफोड तथा सार्वजनिक शान्ति भङ्ग गरेको अभियोगमा उनी पुनः विवादमा परिन्।
यो काण्डमा भक्तपुर प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। अदालतले उनलाई आपराधिक उपद्रव/सार्वजनिक बाधा पुर्याएको कसुरमा ५ दिनको कैद र जरिवानाको फैसला सुनाएको थियो।
अहिले उनी १ करोड ३५ लाख रुपैयाँको चेक बाउन्स काण्डमा जोडिएकी छिन्। एउटा पीडित परिवारको करोडौँ ठगी भएको मुद्दामा सांसद तामाङको नाममा काटिएको १ करोड ३५ लाखको चेक बाउन्स भएपछि उनी वित्तीय गैरकानुनी धन्दा वा वित्तीय द्वन्द्वमा जोडिएको भन्दै छानबिनको माग उठिरहेको छ।
धादिङका १३ वटै स्थानीय तहसँग पङ्गा
संसद् यात्राको प्रारम्भ नै उनले विवादबाट सुरु गरिन्। आफ्नो निर्वाचन क्षेत्र (धादिङ-१) मा पुगेर स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग सहकार्य गर्नुको सट्टा उनी निरन्तर भिडन्तको स्थितिमा उत्रिइन्। राजमार्गमा उठाइने पटके कर र नदीजन्य पदार्थको उत्खननको विषयलाई लिएर उनले धादिङका सबै १३ वटा स्थानीय तहका प्रमुखहरूसँग विवाद सिर्जना गरिन्।
नीतिगत सुधार वा कानुनी समाधान खोज्नुको सट्टा स्थानीय तहका प्रमुखहरूलाई सार्वजनिक रूपमै धम्क्याउने र गाली गर्ने गरेपछि धादिङका जनप्रतिनिधिहरू उनी विरुद्ध एकजुट भएका थिए।
संसद् भवनभित्र प्रवेश गरेपछि पनि उनको शैली परिवर्तन भएन। सभामुखले दिएको संसदीय रुलिङलाई अस्वीकार गर्दै संसद्मै नोकझोक गर्ने, ब्याग बोकेर फन्किँदै बाहिरिने उनको शैली निरन्तर छ। सांसदहरूसँगको छलफलमा पार्टी सभापति रवि लामिछानेले पटक पटक अराजक र अशोभनीय व्यवहार नगर्न आफ्ना दलका सांसदहरूलाई सचेत गराए पनि त्यसको प्रभाव आशिकामा देखिन्न।
भदौ ५, २०८३ शुक्रबार २०:०५:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।