कुवेतमा बन्धक बनाइएकी महिलाको उद्धारपछि काठमाडौंबाट जोगाइयो थप ९ महिला, टिकटक र ह्वाट्सएपबाट दिइन्थ्यो विदेशको प्रलोभन
काठमाडौं : कुवेतमा बन्धक बनाइएकी एक महिला र काठमाडौंमा कुवेत पठाउने तयारी अवस्थामा रहेका अन्य नौ जना गरी १० महिलाको उद्धार गरिएको छ। घरेलु कामदारको रूपमा कुवेत पठाइएकी ती महिलालाई करिब डेढ महिनादेखि त्यहाँ बन्धक बनाइ राखिएको थियो।
अगष्ट १५ मा उद्धार गरेर नेपाल ल्याइएकी ती महिलालाई कुवेत पठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिका- ११ घर भई हाल काठमाडौंको तारकेश्वर-७ थापागाउँ बस्ने ३१ वर्षीया ममता पछाई पक्राउ गर्यो।
मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा उनीमाथि अनुसन्धान गर्दा पछाईले फेसबुक र ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरूसँग सम्पर्क गरी आकर्षक तलबको प्रलोभन देखाएर विदेश पठाउने भनी थप नौ महिलालाई काठमाडौं बोलाएको खुल्यो।
उनले तारकेश्वर- ७ थापागाउँस्थित भाडामा लिइएको एक कोठामा उनीहरुलाई राखिएको अवस्थामा प्रहरीले फेला पार्यो। उनीहरूलाई अवैधरूपमा घरेलु कामदारको रूपमा कुवेत पठाउने पछाईको तयारी रहेको अनुसन्धानका क्रममा खुल्यो। उद्धार गरिएका ती महिलाहरूलाई आवश्यक परामर्शपश्चात् आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पछाईले सामाजिक सञ्जालको प्रयोग गरी वैदेशिक रोजगारीको प्रलोभन देखाएर महिलाहरूलाई मानव बेचबिखनको जोखिममा पारेको देखिन्छ। उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भदौ ५, २०८३ शुक्रबार १९:४०:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।