शंखमुलको होस्टलमा युवकको हत्या, कारण क्षणिक आवेगमा
काठमाडौं : काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा शुक्रबार बिहान साथीहरूबीचको कुटपिट र आक्रमणबाट एक युवकको हत्या भएको छ। हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
मृतक दाङको घोराही उपमहानगरपालिका–१७ घर भई सोही होस्टलमा बस्दै आएका वसन्त कालाथोकी हुन्।
प्रहरीका अनुसार शुक्रबार बिहान होस्टल परिसरभित्रै केही व्यक्तिहरूले कालाथोकीमाथि धारिलो हतियार प्रयोग गरी अन्धाधुन्ध आक्रमण गरेको सूचना आएको थियो। सूचना पाए लगत्तै प्रहरी वृत्त नयाँ बानेश्वरको टोली घटनास्थल पुगी गम्भीर घाइते अवस्थाका कालाथोकीको उद्धार गरी नजिकैको सिभिल अस्पताल पुर्याएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई करिब सवा १२ बजे मृत घोषणा गरे।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी दानबहादुर थापाका अनुसार मृतकको टाउको र घाँटीमा गम्भीर चोट लागेको खुलेको छ। शव हेर्दा धारिलो हतियारले हाने जस्तै देखिने तर पक्राउ परेकाहरुले टेबलले हानेको बताएको जानकारी दिँदै थापाले मृत्युको थप कारण पोस्टमार्टमको विस्तृत रिपोर्टबाट खुल्ने बताए। उनका अनुसार होस्टलबाट ६ जनालाई नियन्त्रणमा लिएको छ।
सोधपुछका क्रममा बाराको कलैया उपमहानगरपालिका–३ घर भएका १८ वर्षीय शेखर यादव घटनामा प्रत्यक्ष संलग्न रहेको हुनसक्ने देखिएपछि उनलाई पक्राउ गरियो। घटनामा प्रमित पटेलसमेत संलग्न रहेको देखियो। तर उनी फरार थिए। उनलाई भाग्दै गरेको अवस्थामा प्रहरीले मकवानपुरबाट पक्राउ गर्यो।
प्रहरीले यादव र पटेलविरुद्ध कर्तव्य ज्यानको कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाउने तयारी गरेको छ। अनुसन्धानमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसमेत संलग्न छ।
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार घटनाको कारण साथीहरूबीचको सामान्य विवाद देखिएको छ। होस्टलमा बस्ने युवाहरूबीच सामान्य विवाद हुँदा आवेशमा आएर अन्धाधुन्ध आक्रमण भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
भदौ ५, २०८३ शुक्रबार १९:००:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।