स्कुलको दुर्दशा हेर्न पुगेका कक्रोच जनता पार्टीका समर्थकमाथि ढुङ्गामुढा प्रहार, बीजेपीका मन्त्रीमाथि उक्साएको आरोप

स्कुलको दुर्दशा हेर्न पुगेका कक्रोच जनता पार्टीका समर्थकमाथि ढुङ्गामुढा प्रहार, बीजेपीका मन्त्रीमाथि उक्साएको आरोप

एजेन्सी : राजस्थानको जयपुरस्थित बगरु विधानसभा क्षेत्रमा पर्ने एक सरकारी विद्यालयको निरीक्षण गर्न पुगेका 'कक्रोच जनता पार्टी' (सीजेपी)का समर्थकहरूमाथि शुक्रबार बिहान आक्रमण भयो। आक्रमणमा सीजेपीका राष्ट्रिय प्रवक्ता आशुतोष रांकासहित कैयौं समर्थक घाइते भए। उनीहरूको सवारीसाधनमा तोडफोड गरियो।

शुक्रबार बिहान करिब ८ बजे सीजेपीका समर्थकहरू रामपुरा-कँवरपुरा गाउँको प्राथमिक विद्यालयको अवस्था बुझ्न पुगेका थिए। सो क्रममा स्कुल परिसरबाहिर जम्मा भएका स्थानीय प्रदर्शनकारीहरूले उनीहरूलाई गाउँ प्रवेशमा रोक लगाउँदै नाराबाजी गरेका थिए। 

स्थिति तनावपूर्ण बनेपछि समर्थकहरूले सीजेपी कार्यकर्तामाथि ढुङ्गामुढा र भौतिक आक्रमण सुरु गरेका थिए। आक्रमणबाट घाइते भएका कतिपय समर्थकले नजिकैको निर्माणाधीन भवनमा लुकेर ज्यान जोगाएका थिए। केही व्यक्तिहरूमाथि दुर्व्यवहार भएको जनाइएको छ।

रामपुरा-कँवरपुरा गाउँको उक्त सरकारी विद्यालय लामो समयदेखि जर्जर भवनमा सञ्चालन हुँदै आएको थियो। एक स्थानीयले उपलब्ध गराएको स्कुल भवनको अवस्था अहिले निकै नाजुक छ। बीबीसी हिन्दीका अनुसार यही असुरक्षित भवनको एक कोठामा बालबालिकाहरूलाई पढाइन्छ भने अर्कोतिरको कोठामा भैँसीको दाना-पराल राखिएको देखिन्छ।

सीजेपीले विद्यालयको नाममा राजनीति गर्न खोजेको र साम्प्रदायिक सद्भाव बिगार्न खोजेको आरोप आक्रमणमा उत्रिएकाहरूको छ। तर, घटनापछि सीजेपीका प्रवक्ता आशुतोष रांकाले यसलाई राजस्थानको 'लोकतन्त्रको कालो दिन' को संज्ञा दिए। 

राजस्थानका शिक्षा मन्त्री मदन दिलावरको उक्साहटमा आफूहरूमाथि साङ्घातिक हमला भएको दाबी गर्दै उनले आक्रमणकारीलाई कारबाही गर्न ४८ घण्टाको 'अल्टिमेटम' दिए। उता, दिलावरले एक विज्ञप्ति जारी गरेर विद्यालयलाई राजनीतिक अखाडा नबनाउन चेतावनी दिए। सीजेपीको नाम उल्लेख नगरी उनले 'कथित राजनीतिक दल'हरूले विद्यालयको वातावरण बिगार्न खोजेको आरोप लगाए।

सीजेपी समर्थकहरूले भने आफूहरूमाथि आक्रमण गर्नेहरू भारतीय जनता पार्टी (बीजेपी)का नेता कार्यकर्ता रहेको आरोप लगाएका छन्। आफ्ना समर्थकमाथि पाकिस्तानी भन्दै जातीय र क्षेत्रीय विभेदपूर्ण नाराबाजी गरेको सीजेपीको दाबी छ। उनीहरूले यस घटनाको जिम्मेवार राजस्थान सरकार र शिक्षा मन्त्री दिलावरलाई ठहराएका छन्। 

भदौ ५, २०८३ शुक्रबार १८:४८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।