रास्वपाले मनोनीत गर्‍यो नौ केन्द्रीय सदस्य, छ जनालाई विभागीय जिम्मेवारी

रास्वपाले मनोनीत गर्‍यो नौ केन्द्रीय सदस्य, छ जनालाई विभागीय जिम्मेवारी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शुक्रबार बसेको केन्द्रीय समिति बैठकले नौ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेको छ।

बैठकले सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम सुप्रभात यादव, डा मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डा भक्तबहादुर राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो।

त्यस्तै विभागीय जिम्मेवारीतर्फ सङ्गठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डा तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी र अर्थ विभाग प्रमुखमा लिमा अधिकारी आचार्यलाई जिम्मेवारी दिइएको छ। 

प्रशिक्षण विभागको उपप्रमुखमा कमल सुवेदीलाई तोकिएको छ। रास्वपाले आगामी स्थानीय निर्वाचनका लागि महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा तयार गरिएको ‘उम्मेदवार छनोट रूपरेखा-२०८३’लाई बैठकमा प्राप्त सुझावसमेत समेटेर अनुमोदन गर्ने निर्णय गरेको छ।

स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य बन्न इच्छुक केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यबाट नामावली माग गर्ने निर्णयसमेत बैठकले गरेको छ।

‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण गर्न महामन्त्री आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ।

स्थानीय निर्वाचनको तयारीका लागि केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यलाई ४६० गाउँपालिकामा परिचालन गरी उम्मेदवार छनोट रूपरेखालगायत विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालनको संयोजन सहमहामन्त्री निशा डाँगीले गर्नेछन्।

बैठकले आगामी असोजदेखि ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णयसमेत गरेको महामन्त्री आचार्यले जानकारी दिए। 

मधेसमा जिल्ला तथा प्रदेश अधिवेशन सुरु गर्नुअघि सङ्गठनको अडिट गर्न सहमहामन्त्री हरि ढकालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ। समितिमा मधेसबाहेकका प्रदेशका केन्द्रीय समिति सदस्य रहनेछन्।

रास्वपाको विधानअनुसार सभापति एक, राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ९९, मनोनीत ५१ र पदेन केन्द्रीय सदस्यका रूपमा प्रदेश सभापति सात गरी १५८ सदस्यीय केन्द्रीय समितिको व्यवस्था छ।

भदौ ५, २०८३ शुक्रबार १८:०१:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।