फोहोर व्यवस्थापनको समस्या सुल्झाउन बोलाइएको बैठकमा मेयरसँग सांसद आशिकाको चर्काचर्की

फोहोर व्यवस्थापनको समस्या सुल्झाउन बोलाइएको बैठकमा मेयरसँग सांसद आशिकाको चर्काचर्की

काठमाडौं : काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका विषयमा शुक्रबार आयोजित छलफल कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बहिष्कार गरिन्। 

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसँग भनाभन भएपछि उनी बैठक छाडेर हिँडिन्।

बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका क्रममा देखिएका समस्या, स्थानीयवासीका गुनासा र व्यवस्थापनका लागि भइरहेका कामकारबाहीबारे छलफल गर्न बैठक डाकिएको थियो। 

बैठकमा ललितपुरका नगर प्रमुख महर्जनले महानगरपालिकाले आफ्नो तर्फबाट काम गरिरहेको भए पनि सांसदहरूले दबाब दिने र आफूहरूमाथि नराम्रा मुद्दा लगाउने गरेको गुनासो गरेपछि विवाद सुरु भएको थियो। महर्जनले सांसदहरूलाई विषय बुझेर मात्रै धारणा बनाउन आग्रह गरेका थिए।

त्यसपछि सांसद तामाङले टेबल ठोक्दै असन्तुष्टि व्यक्त गरेपछि भनाभन भएको थियो। विवाद चर्किएपछि सञ्चारमन्त्री तिमिल्सिनाले मध्यस्थता गर्दै स्थिति शान्त पार्ने प्रयास गरे पनि विवाद साम्य हुन सकेन। स्थिति सामान्य नभएपछि तामाङले बैठक नै बहिष्कार गरेर बाहिरिइन्।

भदौ ५, २०८३ शुक्रबार १७:०९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।