हरित उद्यम र वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य
काठमाडौं : नेपालको हरित अर्थतन्त्रमा संलग्न सूक्ष्म उद्यमी, कृषक तथा युवाद्वारा सञ्चालित व्यवसायहरूमा वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक लिमिटेड र हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपालबीच रणनीतिक समझदारी भएको छ।
समझदारीपत्रमा कुमारी बैंकका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले हस्ताक्षर गरेका छन्।
यस सहकार्यअन्तर्गत दुवै संस्थाले हरित उद्यम, दिगो मूल्य शृङ्खला तथा जलवायु-उत्थानशील व्यवसायहरूका लागि आवश्यक कर्जा, वित्तीय स्रोत र व्यावसायिक क्षमता विकासमा संयुक्त रूपमा काम गर्नेछन्।
कुमारी बैंकका दिगो बैंकिङ प्रमुख अर्पण पौडेलले यस सहकार्यले हरित व्यवसायलाई प्रवर्द्धन गरी स्थानीयस्तरमा रोजगारी सिर्जना र समावेशी आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
बैंकले देशभर रहेका आफ्ना २७९ शाखा, २९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर र ४० शाखारहित बैंकिङ सञ्जालमार्फत यी सेवाहरू लक्षित समुदायसम्म पुर्याउने जनाएको छ।
भदौ ५, २०८३ शुक्रबार १२:२४:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।