‘१८औं नाडा अटो शो’ भदौ ९ देखि भृकुटीमण्डपमा, ५० वर्षे स्वर्ण जयन्तीका रूपमा आयोजना हुँदै
काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो ५० वर्षे ऐतिहासिक यात्रा (स्वर्ण जयन्ती) को अवसर पारेर ‘१८औं नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ।
‘एचपी ल्युब्रिकेन्ट्स’ मुख्य प्रायोजक रहेको यो बृहत् मेला आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
भृकुटीमण्डपको करिब ३ लाख वर्गफिट क्षेत्रफलमा फैलिने यस प्रदर्शनीमा २ सयभन्दा बढी स्टलहरू रहनेछन्।
मेलामा २३ वटा चारपाङ्ग्रे, १७ वटा साना तथा मझौला व्यावसायिक सवारी र १३ वटा दुईपाङ्ग्रे ब्रान्डहरूको प्रत्यक्ष सहभागिता रहने नाडाले जनाएको छ।
यसका साथै टायर, ब्याट्री, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण र १० वटा बैंक तथा वित्तीय संस्थाहरू पनि सहभागी हुनेछन्।
हाल नेपालमा करिब ५५ लाख सवारीसाधन दर्ता भइसकेका छन् भने ६३ हजारभन्दा बढी विद्युतीय सवारी सञ्चालनमा छन्।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले यो स्वर्ण जयन्ती संस्करण केवल मेला मात्र नभएर रोजगारी, राजस्व र हरित गतिशीलतामा अटोमोबाइल क्षेत्रले पुर्याएको ५ दशक लामो योगदानको उत्सव भएको बताए।
भदौ ५, २०८३ शुक्रबार ११:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।