नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’ श्रीलङ्काको ‘डायलग आजियाटा’मा भित्रियो

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’ श्रीलङ्काको ‘डायलग आजियाटा’मा भित्रियो

काठमाडौं : नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ श्रीलङ्काको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी ‘डायलग आजियाटा’मा भित्रिएको छ।

प्रिक्सा कम्पनीले विकास गरेको यो प्रविधिलाई अन्तर्राष्ट्रिय बजारमा लैजान दुई पक्षबीच रणनीतिक व्यावसायिक सम्झौता भएको हो।

सम्झौता पत्रमा प्रिक्साका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिष शर्मा र डायलगका उपाध्यक्ष विरङ्गा सेनेभिरत्नेले हस्ताक्षर गरेका छन्।

यस सम्झौतासँगै श्रीलङ्काली बजारमा ‘टिङटिङ कम्युनिकेशन सुइट’ अन्तर्गतका चार प्रमुख सेवा- कनेक्ट, ओम्नी, ब्रोडकास्ट र एजेन्ट सञ्चालनमा आएका छन्।

यस प्लेटफर्ममार्फत डिजिटल संवादलाई एकीकृत गर्ने, स्वचालित भ्वाइस कल पठाउने तथा स्थानीय भाषामै एआईमार्फत ग्राहकसँग कुराकानी गर्न सकिन्छ।

हाल यी सेवाहरू अङ्ग्रेजी, नेपाली र सिंहली भाषामा उपलब्ध छन् भने कम्पनीले तमिल र सिंहली भाषाको भ्वाइस मोडलिङको काम पनि तीव्र बनाएको छ।

‘नेपालमा निर्मित, विश्वका लागि’ भन्ने सोचसहित गरिएको यो साझेदारीलाई नेपाली सूचना प्रविधि र सफ्टवेयर निर्यातको क्षेत्रमा ठूलो उपलब्धिका रूपमा हेरिएको छ।

भदौ ५, २०८३ शुक्रबार १०:४८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।