ह्वाट्सएपमा 'धोका पाएँ' भन्दै स्ट्याटस लेखेर श्रीमती र बहिनीको हत्या गरेपछि श्रीमान्ले गरे आत्महत्या
एजेन्सी : भारतको उत्तर प्रदेशको राजधानी लखनउस्थित गोमती नगर क्षेत्रमा वैवाहिक विवादका कारण भएको भनिएको हत्याले भयावह रूप लिएको छ। बिहीबार दिउँसो एक बैंकका कर्मचारीले आफ्नै श्रीमती र बहिनीको हत्या गरेपछि आत्महत्या गरेका छन्।
मृतक दिव्या मिश्रा आईसीआईसीआई बैंकको कार्यरत थिइन्। उनी ८५ लाखभन्दा बढी सब्स्क्राइबर रहेको युट्युब च्यानल ‘उल्टा चश्मा यूसी’ की सञ्चालक तथा चर्चित इन्फ्लुएन्सर प्रज्ञा मिश्राकी बहिनी हुन्।
प्रहरीका अनुसार लखनउको गोमतीनगरस्थित आईसीआईसीआई बैंक शाखामा कार्यरत दिव्यालाई उनका श्रीमान् मानस वाजपेयीले बैंकबाहिर बोलाएर हत्या गरेपछि आफ्नी बहिनीको हत्या गरेका उनले अन्तमा आत्महत्या गरे।
घटनाका केही घण्टामै यस हत्याकाण्डसँग सम्बन्धित थुप्रै डरलाग्दा विवरण सार्वजनिक भएका छन्।
श्रीमतीलाई बैंकबाहिर बोलाएर हत्या
दिव्या मिश्र गोमतीनगरस्थित आईसीआईसीआई बैंकमा कार्यरत थिइन्। उनका श्रीमान् मानस वाजपेयी पनि बैंकिङ क्षेत्रमा कार्यरत थिए।
बिहीबार दिउँसो मानस अटो रिक्सा चढेर दिव्या कार्यरत आईसीआईसीआई बैंकबाहिर पुगे। उनले श्रीमतीलाई बैंकबाहिर बोलाएर अटोमै बसेर केहिबेर कुरे। श्रीमतीसँग केही बेर कुराकानी गरेपछि हत्या गरी घटनास्थलबाट फरार भएको प्रहरीलाई उद्धृत गर्दै हिंदुस्तान टाइम्सले उल्लेख गरेको छ।
हत्यापछि ह्वाट्सएपमा लेखे- ‘अब आफू र बहिनीलाई मार्नुपर्छ’
श्रीमतीको हत्या गरेपछि पनि मानस रोकिएनन्। उनी गोमतीनगरबाट हुसेरिया क्षेत्रतर्फ पुगे र त्यहाँ पुगेपछि ह्वाट्सएपमा एउटा स्ट्याटस लेखे, "आज मैले मलाई धोका दिएकी श्रीमतीको हत्या गरेँ। अब मैले आफूलाई र मेरी बहिनीलाई पनि मार्नु परेको छ।"
उक्त स्ट्याटसमा उनले दिव्याकी दिदी प्रज्ञा र भिनाजु भारतलाई 'सबै कुरा थाहा भएको' दाबीसमेत गरेका छन्।
घटनालगत्तै प्रज्ञा मिश्राले गोमतीनगरमा बहिनी दिव्यामाथि गोली प्रहार भएको भन्दै सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिएकी थिइन्। उनले घटनाबारे उत्तर प्रदेश प्रहरी, लखनउ प्रहरी र प्रहरी महानिर्देशकलाई समेत ट्याग गरेकी थिइन्।
उनले लेखेकी थिइन्, "भर्खरै खबर पाएँ कि मेरी बहिनीलाई गोमती नगरमा गोली हानिएको छ... ईश्वरसँग प्रार्थना गर्छु मेरी बहिनीको रक्षा होस्।"
तर, अस्पताल पुर्याइएकी दिव्यालाई चिकित्सकले मृत घोषित गरेका थिए।
बहिनीलाई गोली हानेपछि आफैंलाई पनि गोली हाने
श्रीतीको हत्या गरेपछि हुसेरिया पुगेका मानसले त्यहाँ आफ्नी बहिनी शीबालाई भेटेर उनको पनि हत्या गरेको प्रहरीले जनाएको छ। त्यसपछि भने उनी आफैले आत्महत्या गरेका थिए।
मानसले आफ्नै बहिनीको हत्या किन गरे भन्ने कारण भने अझै खुल्न सकेको छैन।
सम्बन्धविच्छेदको मुद्दा विचाराधीन
प्रहरीका अतिरिक्त उप-आयुक्त अमोल मुर्कुटका अनुसार मानस र दिव्याबीच लामो समयदेखि पारिवारिक विवाद चलिरहेको थियो। अदालतमा उनीहरूको सम्बन्धविच्छेदको मुद्दा पनि विचाराधीन रहेको अनुसन्धानबाट खुलेको छ।
मानसले श्रीमतीमाथि आफूलाई धोका दिएको आरोप लगाए पनि उक्त आरोपको वास्तविकता र हत्याको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
घटनाको विस्तृत छानबिनका लागि प्रहरीले ५ वटा विशेष टोली गठन गरेको छ। घटनामा संलग्न सबै शवहरूलाई पोष्टमार्टमका लागि पठाइएको र थप प्रमाण संकलन भइरहेको लखनउ प्रहरीले जनाएको छ।
भदौ ४, २०८३ बिहीबार १९:१४:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।