फुल चार्जमा ‘नामी भिगो ई२’को रेन्ज ३५० किमि, नाडा अटो शोसम्म मूल्यमा २ लाख छुट
काठमाडौं : एमएडब्लू वृद्धि मोटर्सले ‘नामी भिगो ई२’को प्रारम्भिक मूल्य ३५ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ। यो मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागु हुने र त्यसपछि नियमित मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ।
काठमाडौंमा आयोजित सार्वजनिक समारोहमा एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल, डोङफेङ मोटर कर्पोरेसनकी दक्षिण एसिया क्षेत्रीय प्रबन्धक सुश्री नोएमी लगायत उपस्थिति थियो।
गाडीमा थप प्रिमियम फिचर्स, मुनरुफ र आर१८ टायरसहितको ‘भिगो ई२ प्लस’ मोडलका लागि भने थप ८ लाख रुपैयाँ तिर्नुपर्नेछ। अध्यक्ष अग्रवालले नयाँ राष्ट्रिय बजेटको सकारात्मक प्रभावका कारण गाडीको मूल्य परिमार्जन गरी उपभोक्ताको पहुँचमा ल्याइएको बताए। उनले चुनिएका फिचर्सलाई समायोजन गर्दै अझ धेरै उपभोक्तासम्म पुर्याउन खोजिएको उल्लेख गरे।
प्राविधिक रूपमा भिगो ई२ मा ५१.८७ किलोवाट-आवर क्षमताको ब्याट्री र ९९ किलोवाटको मोटर जडान गरिएको छ। यसले डब्लूएलटीपी मापदण्डअनुसार एक पटकको फुल चार्जमा ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ। १९० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो गाडीले १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ।
फराकिलो क्याबिन र २,७१५ एमएम ह्विलबेस रहेको यस गाडीमा ५७२ लिटरको बुट स्पेस उपलब्ध छ। यसमा डीजेआई-सञ्चालित एडीएएस, हिटेड तथा भेन्टिलेटेड सिट, मेमोरी सिट र नवीन ‘हेभन एन्ड अर्थ टेलगेट’ जस्ता विशेषताहरू समावेश छन्।
नेपालमा हाल २ हजारभन्दा बढी नामी गाडी सञ्चालनमा रहेको जानकारी दिँदै एमएडब्लू वृद्धिले यस मोडललाई नेपालका चुनौतीपूर्ण सडकहरूमा समेत परीक्षण गरिसकिएको जनाएको छ।
भदौ ४, २०८३ बिहीबार १७:०९:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।