भदौ १९ देखि काठमाडौंमा ऊर्जा र विद्युतीय प्रविधिको अन्तर्राष्ट्रिय प्रदर्शनी

भदौ १९ देखि काठमाडौंमा ऊर्जा र विद्युतीय प्रविधिको अन्तर्राष्ट्रिय प्रदर्शनी

काठमाडौं : नेपालको ऊर्जा, विद्युत्, उपभोक्ता इलेक्ट्रोनिक्स र होम अप्लायन्सेस क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी भदौ तेस्रो साता काठमाडौंमा अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ।

भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा भदौ १९ देखि २१ गतेसम्म ‘५औँ नेपाल इलेक्ट्रिक, पावर एण्ड लाइट’ तथा ‘४औँ नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम एप्लायन्सेस’ प्रदर्शनी हुनेछ। 

मिडिया स्पेस सोलुसन्स, एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया र फ्युचरक्स ट्रेड फेयर एण्ड इभेन्टको संयुक्त आयोजना प्रदर्शनी हुन लागेको हो। प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीका स्टलहरू रहनेछन्। 

मेलामा विशेषगरी ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति र नियन्त्रण प्रणाली, घरायसी विद्युतीय उपकरण, वायर, केबल, एलइडी लाइटिङ र वैकल्पिक ऊर्जा प्रणालीसँग सम्बन्धित नवीनतम प्रविधिहरू प्रदर्शन गरिने आयोजकले जनाएका छन्।

नेपालमा बढ्दो जलविद्युत् उत्पादनको प्रभावकारी उपयोग र विद्युतीय पूर्वाधारको विकासलाई थप व्यवस्थित बनाउन यस प्रदर्शनीले भूमिका खेल्ने अपेक्षा गरिएको छ। यसले उत्पादक, व्यवसायी र उपभोक्तालाई एउटै थलोमा ल्याई प्रविधि हस्तान्तरण र व्यापार विस्तारमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ। तीन दिनसम्म चल्ने प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ। 

भदौ ४, २०८३ बिहीबार १६:४७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।