विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा
काठमाडौं : गत आर्थिक वर्ष २०८२/८३ मा विकास बैंकहरूको खुद नाफा ६४ प्रतिशतले बढेर नौ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। खराब कर्जा व्यवस्थापनमा सुधार, प्रोभिजनिङ खर्चमा आएको कमी तथा खुद ब्याज, शुल्क र कमिसन आम्दानी बढेका कारण बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको हो।
सञ्चालनमा रहेका १७ विकास बैंकहरूमध्ये राष्ट्र बैंकको नियन्त्रणमा रहेको समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकबाहेक १६ बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आव २०८१/८२ मा उनीहरूको नाफा पाँच अर्ब ६७ करोड रुपैयाँ मात्र थियो।
गत वर्ष गरिमा विकास बैंकले सबैभन्दा धेरै एक अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। त्यसपछि मुक्तिनाथ विकास बैंकले एक अर्ब ५१ करोड रुपैयाँ, साइन रेसुङ्गा विकास बैंक र ज्योति विकास बैंकले पनि एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको छ।
राष्ट्रियस्तरका आठ विकास बैंकले मात्रै आठ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। यद्यपि, सबै विकास बैंकको अवस्था समान छैन। नारायणी विकास बैंक गत वर्ष पाँच करोड ३७ लाख रुपैयाँ घाटामा गएको एकमात्र विकास बैंक बनेको छ।
वितरणयोग्य नाफा ५ अर्ब ६७ करोडमा सीमित
खुद नाफा नौ अर्ब ३३ करोड रुपैयाँ पुगे पनि बैंकहरूको वितरणयोग्य नाफा भने पाँभ अर्ब ६७ करोड रुपैयाँ मात्रै रहेको छ। उठाउन बाँकी ब्याजमा भएको वृद्धि, कर्जा जोखिम तथा गैरबैंकिङ सम्पत्तिसम्बन्धी जोखिमका लागि नियामकीय व्यवस्था अनुसार थप रकम छुट्याउनुपरेकाले वितरणयोग्य नाफा घटेको हो।
वितरणयोग्य नाफाका आधारमा पनि गरिमा विकास बैंक पहिलो स्थानमा छ। बैंकको वितरणयोग्य नाफा एक अर्ब २१ करोड रुपैयाँ पुगेको छ। यस्तै, मुक्तिनाथ विकास बैंकले एक अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाए पनि वितरणयोग्य नाफा ६७ करोड रुपैयाँ मात्रै रहेको छ। गत वर्ष कर्पोरेट, सालपा, सिन्धु र नारायणी विकास बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको वित्तीय विवरणले देखाएको छ।
आर्थिक सुस्तता र असुली समस्याको प्रभाव
विकास बैंकहरूले आर्थिक गतिविधिमा आएको सुस्तता, ऋण नतिर्ने अभियानका कारण कमजोर बनेको कर्जा असुली तथा जेनजी आन्दोलनले वित्तीय अवस्थामा दबाब परेको उल्लेख गरेका छन्। साथै राजनीतिक अस्थिरता र वित्तीय बजारमा बढ्दो प्रतिस्पर्धाले पनि बैंकहरूको सञ्चालनमा चुनौती थपिएको व्यवस्थापकीय विश्लेषणमा जनाइएको छ।
भदौ ४, २०८३ बिहीबार १२:२७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।