भदौ ३१ देखि फेरि जोडिँदै नेपालगञ्ज र पोखरा, सातामा तीन उडान हुने

भदौ ३१ देखि फेरि जोडिँदै नेपालगञ्ज र पोखरा, सातामा तीन उडान हुने

नेपालगञ्ज : लामो समयदेखि स्थगित नेपालगञ्ज-पोखरा सिधा हवाई उडान भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ।

भारतीय धार्मिक पर्यटक र आन्तरिक यात्रुको माग बढेपछि बुद्ध एयरले भदौ ३१ गतेदेखि नियमित उडान गर्न लागेको हो।

बुद्ध एयरले सातामा तीन दिन- आइतबार, बुधबार र शुक्रबार उडान भर्नेछ। यसका लागि अग्रिम टिकट बुकिङ खुला भइसकेको छ।

भारतीय पर्यटकको सङ्ख्या घटेको र इन्धन खर्च बढी भएको भन्दै गत जेठ ५ गतेदेखि यो रुटको उडान रोकिएको थियो।

उडान पुनः सुरु हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित छन्। पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठका अनुसार यसले भारतको उत्तर प्रदेश र पश्चिम नेपाललाई सिधै पोखरासँग जोड्नेछ।

यो उडानले पोखराबाट बाँकेको बागेश्वरी, बर्दिया र भारतको अयोध्या जाने पर्यटक तथा पश्चिम नेपाल (बाँके, बर्दिया, दाङ, सुर्खेत) बाट पोखरा र मुस्ताङ जाने यात्रुलाई निकै सहज बनाउनेछ।

स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि पहिलोपटक २०७८ साउन १७ गतेदेखि यो रुटमा हवाई सेवा सुरु भएको थियो।

भदौ ४, २०८३ बिहीबार ०७:५८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।