सल्यानमा वल्र्डलिंकद्वारा सुरक्षित टहरा हस्तान्तरण

सल्यानमा वल्र्डलिंकद्वारा सुरक्षित टहरा हस्तान्तरण

सल्यान : परम्परागत खुकुरी निर्माण गर्ने सीप तथा व्यवसायको संरक्षणमा वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले सहयोग गरेको छ।

सल्यानको खलङ्गास्थित विश्वकर्मा टोलमा परम्परागत रूपमा खुकुरी निर्माण गर्दै आएका राजु विक र पार्वती विक दम्पतीका लागि वल्र्डलिंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुरक्षित टहरा निर्माण गरी हस्तान्तरण गरेको हो।

यसअघि जीर्ण र असुरक्षित टहरामा काम गर्दै आएका विक दम्पतीलाई अब नयाँ व्यवस्थित संरचनाले खुकुरी तथा अन्य फलामजन्य सामग्री निर्माणका लागि सुरक्षित कार्यस्थल उपलब्ध गराएको छ। यसले परम्परागत सीपको संरक्षणसँगै स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनको अवसरलाई निरन्तरता दिनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाली खुकुरी केवल हतियार नभई नेपालीको मौलिक पहिचान, साहस, गौरव र शानसँग जोडिएको ऐतिहासिक सम्पदा हो। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यो परम्परागत सीप पछिल्लो समय सुरक्षित कार्यस्थल, आवश्यक पूर्वाधार र बजारको अभावका कारण संकटमा पर्दै गएको राजु विकले बताए। वल्र्डलिंकको सहयोगले आफ्नो व्यवसायलाई निरन्तरता दिन थप हौसला मिलेको उनले बताए।

खुकुरी निर्माणमा प्रयोग हुने परम्परागत ज्ञान, सीप र प्रविधिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै स्थानीय मौलिकता जोगाउन आवश्यक रहेको स्थानीयको भनाइ छ। यस्ता पहलले ‘सीप जोगाऔँ, परम्परा बचाऔँ र स्थानीय व्यवसायलाई आत्मनिर्भर बनाऔँ’ भन्ने उद्देश्यलाई बल पुग्ने विश्वास गरिएको छ।

वल्र्डलिंकले समुदायको आवश्यकता पहिचान गरी सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका समुदायको सीप संरक्षण, व्यवसाय प्रवर्द्धन र दिगो जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

टहरा हस्तान्तरण कार्यक्रममा स्थानीय प्रतिनिधि, समुदायका सदस्य तथा वल्र्डलिंकका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रममा परम्परागत सीप तथा व्यवसायको संरक्षणका लागि स्थानीय समुदाय, सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

भदौ ३, २०८३ बुधबार १७:४५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।