बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरद्वारा दाबी पेश, नियुक्ति भोलि मात्रै
काठमाडौं : बागमती प्रदेशको मुख्यमन्त्रीका लागि एमालेका प्रदेशसभा सदस्य किरण थापामगरले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष औपचारिक दाबी पेश गरेका छन्।
थापामगरले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित तीन दलका ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको हस्ताक्षरसहित मुख्यमन्त्री पदमा दाबी पेश गरेका हुन्।
एमाले संसदीय दलको बैठकले थापामगरलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेपछि उनले बहुमत सदस्यको हस्ताक्षर जुटाएर प्रदेश प्रमुखको कार्यालय पुगेका थिए।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता अर्जुन आचार्यका अनुसार थापामगरलाई प्रदेश प्रमुख देवकोटाले बिहीबार साँझ ४ बजेपछि मुख्यमन्त्रीमा नियुक्त गर्नेछन्।
उनले उकेरासँग भने, ‘एमाले संसदीय दलको नेता किरण थापामगरले दाबी पेश गर्नुभएको छ। तर भोलि दिउँसो ४ बजेसम्मको समय दिएकाले त्यसपछि मात्रैलाई मुख्यमन्त्रीमा नियुक्ति हुनेछ।’
नेपाली कांग्रेसका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि भदौ ४ गते दिउँसो ४ बजेसम्मको समयसीमा दिएर दाबी पेश गर्न आह्वान गरेका थिए।
कुल १०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। ६३ सांसदको समर्थन जुटाएकाले थापामगरको पक्षमा स्पष्ट बहुमत देखिएको छ।
प्रदेशसभामा नेपाली कांग्रेसको ३६, नेकपाको २६, एमालेको २५, राप्रपाको १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को ३ र हाम्रो नेपाली पार्टीको २ सिट रहेको छ।
भदौ ३, २०८३ बुधबार १३:५७:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।