मोदीको निम्तोले बंगलादेशी प्रधानमन्त्रीलाई धर्मसंकट

मोदीको निम्तोले बंगलादेशी प्रधानमन्त्रीलाई धर्मसंकट

एजेन्सी : बंगलादेशमा सत्ता परिवर्तन भएर फेब्रुअरीमा तारिक रहमान प्रधानमन्त्री बनेलगत्तै भारतले उनलाई नयाँ दिल्ली भ्रमणको औपचारिक निम्तो पठायो।

तर, रहमानले भारतको निम्तोलाई प्राथमिकतामा राखेनन्। उनले आफ्नो पहिलो विदेश भ्रमणका रूपमा मलेसिया र त्यसपछि चीनलाई रोजे।

यति हुँदाहुँदै पनि भारत पछि हटेन। आगामी सेप्टेम्बरमा नयाँ दिल्लीमा आयोजना हुन लागेको ‘ब्रिक्स शिखर सम्मेलन’ मा पाहुनाका रूपमा सहभागी हुन भारतले रहमानलाई फेरि अर्को निम्तो पठाएको छ। तर, बंगलादेशका प्रधानमन्त्रीले अहिलेसम्म यसको स्पष्ट जवाफ दिएका छैनन्।

आन्दोलनबाट अपदस्थ भएकी पूर्वप्रधानमन्त्री शेख हसिना हाल भारतमै शरण लिएर बसिरहेकी छन्। ५ अगस्टमा हसिनाले दिल्लीमै पत्रकार सम्मेलन गरेपछि ढाका र नयाँ दिल्लीबीचको सम्बन्ध थप चिसिएको छ। बंगलादेशको विदेश मन्त्रालयले भ्रमणका लागि पहिले ‘अनुकूल वातावरण’ बन्नुपर्ने सर्त राखेको छ।

यस्तो अवस्थामा प्रश्न उठ्छ- भारत किन तारिक रहमानलाई दिल्ली बोलाउन यति धेरै मरिहत्ते गरिरहेको छ? र यो निम्तोले रहमानलाई किन धर्मसङ्कटमा पारेको छ?

भारत किन पछि लागिरहेको छ ?
दक्षिण एसियाली राजनीतिका जानकार सौरभ कुमार शाहीका अनुसार भारतसँग नयाँ बंगलादेशी नेतृत्वसँग संवाद गर्नुबाहेक अर्को विकल्प छैन।

‘साथी बदल्न सकिन्छ तर छिमेकी बदल्न सकिँदैन। विगतमा श्रीलङ्कामा भारतविरोधी सरकार आउँदा पनि भारतले निरन्तर संवाद गरेर सम्बन्ध सुधार गरेको थियो, अहिले बंगलादेशमा पनि त्यही नीति अपनाइएको हो’, शाही भन्छन्।

बंगलादेशको ९४ प्रतिशत सीमा भारतसँग जोडिएकाले दुवै देश एकअर्कालाई बेवास्ता गरेर अघि बढ्न सक्दैनन्।

तर, मोदी सरकारले विगतमा ‘सबै अण्डा एउटै टोकरीमा राखेझैँ’ शेख हसिनालाई मात्र एकपक्षीय समर्थन गरेकाले अहिले नयाँ सरकारसँग सम्बन्ध गाँस्न भारतलाई निकै सकस परिरहेको छ।

बंगलादेशमा बढ्दो भारतविरोधी जनमत
प्यु रिसर्च सेन्टरको पछिल्लो सर्वेक्षण अनुसार बंगलादेशका ५१ प्रतिशत जनताले भारतप्रति नकारात्मक धारणा राख्छन् भने सकारात्मक सोच्नेहरू घटेर ४२ प्रतिशतमा झरेका छन्।

हसिनाविरुद्धको आन्दोलन र जनमतको जगमा सत्तामा आएका तारिक रहमानका लागि घरेलु राजनीति निकै संवेदनशील छ। विपक्षी दल ‘जमात-ए-इस्लामी’को चर्को दबाब र आम जनताको भारतविरोधी भावनालाई बेवास्ता गरेर उनी सीधै दिल्ली भ्रमणमा जान सक्ने अवस्था छैन।

रहमानका लागि किन बन्यो धर्मसङ्कट ?
अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक डा. धनञ्जय त्रिपाठीका अनुसार भारतले ब्रिक्स सम्मेलनको कार्ड फालेर बल बंगलादेशको कोर्टमा पुर्याइदिएको छ।

तर बंगलादका प्रधानमन्त्रीलाई अझै अप्ठ्यारो नै छ। पहिलो कुरो- शेख हसिना अझै दिल्लीमै छिन्। यस्तो बेला भारत भ्रमणमा जाँदा बंगलादेशभित्र रहमानको राजनीतिक छवि र साखमा ठूलो धक्का पुग्न सक्छ।

दोस्रो कुरा- ब्रिक्स कुनै दुई देशको मात्र नभई बहुपक्षीय अन्तर्राष्ट्रिय मञ्च हो, जहाँ बंगलादेश भविष्यमा सदस्य बन्न चाहन्छ। यस्तो मञ्चको निम्तो अस्वीकार गर्दा अन्तर्राष्ट्रिय स्तरमै बंगलादेशलाई असहयोगी देशका रूपमा हेरिन सक्छ। यसले भारतलाई भन्दा बढी घाटा बंगलादेशलाई नै हुनेछ।

अबको बाटो के ?
कूटनीतिज्ञहरूका अनुसार बंगलादेशले पाकिस्तान, चीन र टर्कीसँग सम्बन्ध विस्तार गर्न खोजे पनि भारतसँगको भौगोलिक र ऐतिहासिक सम्बन्धलाई चटक्कै छोड्न सक्दैन।

तर, भारतमा शेख हसिनाको उपस्थिति र जनताको आक्रोश रहेसम्म प्रधानमन्त्री रहमान आफैं दिल्ली जाने सम्भावना निकै कम छ।

यस धर्मसङ्कटबाट बच्न प्रधानमन्त्री तारिक रहमानले ब्रिक्स सम्मेलनमा आफैँ सहभागी हुनुको साटो आफ्ना विदेशमन्त्री वा कुनै विशेष प्रतिनिधिलाई नयाँ दिल्ली पठाएर कूटनीतिक सन्तुलन मिलाउने सम्भावना बढी देखिन्छ।

भदौ ३, २०८३ बुधबार ११:०१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।