शाओमीले नेपालमा ल्यायो ‘रेडमी १७’ सिरिज : ७५ सय एमएएच ब्याट्री र १२० हर्ज डिस्प्ले, यस्तो छ मूल्य
काठमाडौं : स्मार्टफोन ब्रान्ड शाओमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन सिरिजअन्तर्गत ‘रेडमी १७’ र ‘रेडमी १७ फाइभजी’ सार्वजनिक गरेको छ।
प्रयोगकर्तालाई पटक-पटक फोन चार्ज गर्नुपर्ने झन्झटबाट मुक्ति दिने उद्देश्यसहित कम्पनीले शक्तिशाली ७,५०० एमएएच ब्याट्री, १२० हर्ज रिफ्रेस रेट र भरपर्दो मजबुतीका साथ यी फोनहरू बजारमा ल्याएको हो।
यस सिरिजको मुख्य आकर्षण नै यस सेग्मेन्टकै सबैभन्दा ठूलो ७,५०० एमएएच क्षमताको ब्याट्री हो। दिनभर भिडियो स्ट्रिमिङ, गेमिङ वा अन्य काम गर्दा पनि लामो समय टिक्ने यो ब्याट्रीलाई छिटो चार्ज गर्न ४५ वाट टर्बो चार्जिङ सुविधा दिइएको छ।
साथै, यसमा रहेको २२.५ वाट रिभर्स चार्जिङको सहायताले फोनलाई पावर बैंकको रूपमा प्रयोग गरी इयरबड्स, स्मार्टवाच वा अर्को फोनसमेत चार्ज गर्न सकिन्छ।
दुवै स्मार्टफोनमा ६.९ इन्चको ठूलो एचडी डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट दिइएको छ, जसले स्क्रोलिङ र भिडियो हेर्दा स्मूथ अनुभव प्रदान गर्छ।
कार्यक्षमताका हिसाबले रेडमी १७ मा ‘मिडियाटेक हेलियो जी९१-अल्ट्रा’ प्रोसेसर प्रयोग गरिएको छ भने रेडमी १७ फाइभजीमा ‘स्न्यापड्र्यागन ४ जेन ५’ मोबाइल प्लेटफर्म राखिएको छ। शाओमीको नयाँ ‘हाइपरओएस ३’ मा चल्ने यी दुवै फोनले १२ जीबीसम्मको भर्चुअल र्याम सपोर्ट गर्छन्।
फोटोग्राफीका लागि दुवै फोनमा ५० मेगापिक्सेलको एआई डुअल मुख्य क्यामेरा र अगाडिपट्टि ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ।
फोनमा एकैपटक विभिन्न कोणबाट भिडियो खिच्न सकिने डुअल-भ्यु भिडियो फिचर, ३०० प्रतिशतसम्म भोल्युम बुस्ट हुने डुअल स्टेरियो स्पिकर, एनएफसी सपोर्ट र ३.५ एमएम हेडफोन ज्याक समावेश गरिएको छ। दैनिक प्रयोगमा टिकाउ बनाउन करिब २३२ ग्राम तौल भएका यी फोनहरूमा धुलो र पानीबाट बचाउने आईपी६४ रेसिस्टेन्स दिइएको छ।
नेपाली बजारमा रेडमी १७ (४जी) चार रङ र दुई भेरियन्टमा उपलब्ध छ, जसअन्तर्गत ४ जीबी + १२८ जीबीको मूल्य २७ हजार ९९९ रुपैयाँ र ६ जीबी + १२८ जीबीको मूल्य ३३ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ।
त्यसैगरी, तीन रङमा उपलब्ध रेडमी १७ फाइभजीको मूल्य ४ जीबी + १२८ जीबी भेरियन्टलाई ३३ हजार ९९९ रुपैयाँ, ४ जीबी + २५६ जीबीलाई ३७ हजार ९९९ रुपैयाँ र ६ जीबी + २५६ जीबी भेरियन्टलाई ४१ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।
भदौ ३, २०८३ बुधबार ०९:५६:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।