फोहोरबाट मोहर : बुटवलको सरसफाइ सहकारीले फोहोर बेचेरै कमायो ४३ लाख
बुटवल : फोहोरलाई समस्या होइन, आम्दानीको स्रोत बनाउन सकिन्छ भन्ने गतिलो उदाहरण बुटवलको एउटा सहकारीले प्रस्तुत गरेको छ।
बुटवलस्थित सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्थाले घरघरबाट निस्कने फोहोरलाई स्रोतबाटै वर्गीकरण गरी बिक्री गरेर एकै वर्षमा ४३ लाख रुपैयाँ आम्दानी गरेको छ।
बुटवल उपमहानगरपालिकाका वडा नं. ७ र ८ मा फोहोर व्यवस्थापनको जिम्मा लिएको यस सहकारीले कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै सङ्कलन गर्छ।
यसरी सङ्कलित प्लास्टिक, सिसा, गत्ता, कापी-किताब, बोतल, जुत्ता-चप्पल र बोरा लगायतका पुनः प्रयोगयोग्य सामग्री बेचेर सहकारीले मनग्य आम्दानी गरिरहेको छ।
बढ्दैछ फोहोरको कारोबार
२०७६ पुस १६ गते स्थापना भएको सहकारीले २०७७ कात्तिकदेखि उपमहानगरपालिका र शिवनगर सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा फोहोर व्यवस्थापन थालेको थियो।
सुरुवाती चरणमा फोहोर छुट्याउने बानी नहुँदा निकै सास्ती भए पनि निरन्तरको घरदैलो र सचेतना अभियानले अहिले स्थानीयको व्यवहारमा व्यापक परिवर्तन ल्याएको छ।
फोहोर व्यवस्थापन सहज भएसँगै सहकारीको आम्दानी पनि बर्सेनि उकालो लागिरहेको छ।
अघिल्ला वर्षहरूमा २५ लाख र ३८ लाख रुपैयाँको कारोबार गरेको सहकारीले गत आर्थिक वर्षमा फोहोरजन्य सामग्री बिक्रीबाटै ४३ लाख रुपैयाँ आम्दानी गरेको सचिव गेहेन्द्रराज न्यौपानेले जानकारी दिए।
सहकारीका अध्यक्ष कृष्णबहादुर कार्कीका अनुसार वडा नं. ७ र ८ मा सोमबार, बुधबार र शुक्रबार कुहिने तथा आइतबार, मंगलबार र बिहीबार नकुहिने फोहोर सङ्कलन गरिन्छ।
‘अहिले दुई दिनको अन्तरालमा करिब १२ टन कुहिने र १६ टन नकुहिने फोहोर सङ्कलन हुँदै आएको छ’, उनले भने।
फोहोर व्यवस्थापनकै कामबाट सहकारीले ३५ जनालाई प्रत्यक्ष रोजगारीसमेत दिएको छ। फोहोर उठाउन चारवटा ट्र्याक्टर प्रयोग गरिएका छन्, जसमध्ये एउटा उपमहानगरपालिकाको सहयोगमा र बाँकी तीनवटा सहकारीकै लगानीमा खरिद गरिएका हुन्।
अब कम्पोस्ट मल र टायल उत्पादनको तयारी
फोहोरबाट राम्रो आम्दानी हुन थालेपछि सहकारीले अब कुहिने फोहोरबाट कम्पोस्ट मल र प्लास्टिकजन्य फोहोरबाट पार्किङ टायल उत्पादन गर्ने योजना अघि बढाएको छ।
गत वर्ष मेसिन अभावले मल उत्पादनको काम रोकिएको थियो। तर, अहिले उपमहानगरपालिकाले ‘जेसीभी’ उपलब्ध गराउने भएपछि छिट्टै मल उत्पादन सुरु गरिने सचिव न्यौपानेले बताए।
परीक्षणका रूपमा टायल उत्पादन गरिए पनि ‘फिनिसिङ’ राम्रो नभएकाले अब स्वचालित मेसिन नै ल्याएर व्यावसायिक उत्पादन थाल्ने सहकारीको तयारी छ।
फोहोर उठेपछि फेरियो स्थानीयको दैनिकी
नियमित फोहोर उठ्न थालेपछि स्थानीय बासिन्दाको दैनिकी र टोलको वातावरणमै सुधार आएको छ।
विगतमा फोहोर फाल्ने ठाउँ नहुँदा खोला र खोल्साको भर पर्नुपरेको बाध्यता सम्झँदै स्थानीय मनोज शर्मा भन्छन्, ‘फोहोर बाहिर फाल्नु हुँदैन भन्ने चेतना बढेको छ। आफ्नो टोल सफा हुनुका साथै वातावरण पनि स्वच्छ भएको छ।’
फोहोर जलाउने क्रम रोकिएसँगै वायु प्रदूषण कम भएको र टोलको दुर्गन्धसमेत हटेको शर्माले बताए।
ठूला आयोजना अलपत्र, सानो अभ्यास सफल
एकातिर समुदाय स्तरबाट भएको यो सानो अभ्यासले सफलता चुमिरहँदा, अर्कोतिर बुटवलमा आधुनिक फोहोर प्रशोधन केन्द्र निर्माणका ठूला आयोजना भने वर्षौंदेखि अलपत्र छन्।
दैनिक ७० टन फोहोर व्यवस्थापन गर्ने लक्ष्यसहित एसियाली विकास बैंक (एडिबी) को सहयोगमा प्रस्तावित करिब २८ करोड रुपैयाँको फोहोर प्रशोधन केन्द्र स्थानीयको विरोध, जग्गा अभाव र राजनीतिक असमझदारीका कारण अघि बढ्न सकेन।
एडिबीले हात झिकेपछि क्षेत्रीय स्तरको आधुनिक फोहोर प्रशोधन केन्द्र निर्माण अझै अन्योलमा छ। ठूला आयोजना पर्खिएर बस्नुभन्दा समुदायमा आधारित फोहोर व्यवस्थापन नै दिगो समाधान भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे बताउँछन्।
स्रोतमै उचित व्यवस्थापन गर्न सके ९० प्रतिशतसम्म फोहोर पुनः प्रयोग गर्न सकिने भन्दै उनले सहकारीले गरेको यो उदाहरणीय अभ्यास अन्य क्षेत्रका लागि पनि गतिलो सिकाइ बन्न सक्ने विश्वास व्यक्त गरे।
भदौ ३, २०८३ बुधबार ०९:१४:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।