आज पाँच प्रदेशमा भारी वर्षाको अलर्ट, कोशी र मधेसमा हुरीबतास चल्ने
काठमाडौं : देशभर मनसुनी वायु सक्रिय रहँदा आज पनि अधिकांश स्थानमा वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपास रहेकाले देशभर मौसम बदली भएको हो।
अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
त्यस्तै, कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हुरीबतास (हावाहुरी) चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
दिउँसो देशभर साधारणतया बदली रही पहाड र तराईका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने उच्च पहाडी तथा हिमाली भूभागमा वर्षासँगै हिमपातको सम्भावना छ।
आज राति पनि देशभरको मौसम पूर्ण रूपमा खुल्ने छैन। पहाडी र हिमाली भूभागमा मौसम बदली रहनेछ भने तराईका क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ।
राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा केही पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
साथै, हिमाली क्षेत्रमा राति पनि हिमपात हुन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ।
भदौ ३, २०८३ बुधबार ०७:१०:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।