७७ लाखको घरमा १० वर्ष पनि बस्न पाएनन् मानसिंह, आँखैअगाडि गर्ल्यामगुर्लुम ढल्यो जीवनभरको कमाइ

७७ लाखको घरमा १० वर्ष पनि बस्न पाएनन् मानसिंह, आँखैअगाडि गर्ल्यामगुर्लुम ढल्यो जीवनभरको कमाइ

गोरखा : साउन १८ गते, सोमबार बिहानको करिब ११ बजेको थियो। झ्याल बाहिर अविरल झरी परिरहेको थियो।

५९ वर्षीय मानसिंह गुरुङ र उनकी ५३ वर्षीया श्रीमती चित्रकुमारी बिहानको खाना खाएर दुई वर्षको नातिलाई खेलाउँदै आराम गरिरहेका थिए।

एक्कासी घरभित्र अनौठो आवाज आयो- ‘चट्चट्...’

उनीहरू झसङ्ग भए। केही सेकेन्डपछि झनै चर्को गरी त्यही आवाज दोहोरियो। अनिष्टको संकेत पाएर मानसिंहले नाति च्यापे, चित्रकुमारीलाई ताने र हतारहतार बाहिर निस्किए।

आँगनमा पाइला टेक्दा नपुग्दै आँखाअगाडि जमिन चिरिन थालिसकेको थियो। भुइँमा छापिएका ढुङ्गाहरू भत्किँदै थिए, भित्ताका इँटाहरू उप्किँदै थिए। उनीहरू ज्यान जोगाउन सडकतिर दौडिए।

लगत्तै बिजुलीको पोलबाट घरसम्म जोडिएको तार चटक्क चुँडियो। र, हेर्दाहेर्दै केही सेकेन्डमै उनीहरूको आँखाअगाडि चारतले पक्की घर गर्ल्यामगुर्लुम ढल्यो।

‘सबै कुरा केही मिनेटमै सकियो। मेरो त होसै हराए जस्तो भयो, केही सोच्नै सकिनँ’, त्यो भयावह क्षण सम्झिँदै मानसिंह भक्कानिन्छन्।

पसिनाको एउटा लामो इतिहास
गोरखा नगरपालिका-९ लक्ष्मीबजारस्थित दिवामार्गमा ढलेको त्यो घर केवल इँटा, बालुवा र सिमेन्टको थुप्रो मात्र थिएन; त्यो त मानसिंहको जीवनभरको पसिना र सन्तानको भविष्यका लागि बुनिएको सपना थियो।

मानसिंहको पुर्ख्यौली थलो शहीद लखन गाउँपालिका-१, ठूलो दिप्लिङ हो। छोराछोरीलाई राम्रो शिक्षा, गुणस्तरीय स्वास्थ्य र शहरिया जीवनको आशामा उनी गाउँ छाडेर लक्ष्मीबजार झरेका थिए।

नेपाल प्रहरीमा २० वर्ष सेवा गरेर २०६० सालमा अवकाश पाएपछि उनी खाडीको तातो घाममा पसिना बगाउन पुगे।

प्रहरी सेवाको कमाइ र विदेशको पसिना जोहो गरेर उनले २०६६ सालमा लक्ष्मीबजारमा घडेरी किने। २०७२ को भूकम्पपछि २०७४ सालमा ७७ लाख रुपैयाँ खर्चेर सबै मापदण्ड पुर्याउँदै उनले चारतले पक्की घर ठड्याएका थिए।

तर, जीवनको उत्तरार्धमा ढुक्कले बस्ने त्यो छानो १० वर्ष पनि टिक्न सकेन।

आँखामा ननिदाएका रातहरू
सोमबारको त्यो दिनपछि चित्रकुमारीको आँखा ओभाएको छैन। उनी अझै त्यो दृश्यबाट बाहिर आउन सकेकी छैनन्। दिनभर भेट्न र सान्त्वना दिन आउनेसँग मन बुझाए पनि साँझ परेपछि उनलाई भविष्यको चिन्ताले सताउँछ।

‘१७/१८ वर्ष भयो यहाँ आएको। धेरै वर्ष अरूको घरमा भाडामा बसियो। बल्लतल्ल दुःख गरेर आफ्नै छानो बनाएका थियौँ,’ चित्रकुमारी भन्छिन्, ‘बुढा पनि ६० पुग्न लागे, अब जागिर खान पाउँदैनन्। म बुढी कहाँ जाउँ कमाउन? सधैँ अरूको मुख ताकेर कसरी बाँच्ने? जीवनभरको कमाइ त्यही एउटा घर थियो, त्यो पनि गयो। हाम्रो त बाँच्ने आधार नै गुम्यो।’

घर ढलेको खबर पाएर मनकामनाबाट दौडिँदै आइपुगेका कान्छा छोरा आकाश मानवीय क्षति नभएकोमा मन बुझाउने प्रयास गर्दैछन्।

‘धन्न परिवार र भाडामा बस्ने कसैलाई केही भएन,’ आकाश भन्छन्, ‘तर सपना यसरी भत्किँदा मन थाम्न गाह्रो हुँदो रहेछ।’

विकासको लापरबाही कि विपद् ?
मानसिंहको घर प्राकृतिक विपत्तिले मात्र ढलेको होइन।

स्थानीयका अनुसार सडक विस्तार र कल्भर्ट (ढल) निर्माणमा राज्यले गरेको लापरबाहीको परिणाम गुरुङ परिवारले भोग्नुपरेको हो। पानीको उचित निकास नहुँदा जमिन कमजोर भई घरको जग नै भासिएको थियो।

अहिले गुरुङ परिवार स्थानीय सन्तबहादुर गुरुङको शरणमा छ, जसले उनीहरूलाई बस्न एउटा फ्ल्याट खाली गरिदिएका छन्। सेना, प्रहरी र स्थानीयको सहयोगमा केही लत्ताकपडा र कागजात त निकालिएको छ, तर जीवनको सम्पूर्ण कमाइ भने भग्नावशेषमै पुरिएको छ।

गोरखा नगरपालिकाले तत्कालका लागि २५ हजार र वडा कार्यालयले ५० हजार रुपैयाँ राहत दिएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिमार्फत ४ लाखसम्म सहयोग हुन सक्ने बताइए पनि ७७ लाखको क्षति अगाडि त्यो सहयोग निकै सानो छ।

शहरमा आफ्नै घरको छतमुनि सुखले जीवन बिताउने मानसिंहको सपना आज भग्नावशेषको थुप्रो बनेको छ। र, ६० वर्षको उमेरमा उभिएका उनीसामु एउटै अनुत्तरित प्रश्न छ- ‘अब जीवनको सुरुवात कहाँबाट गर्ने?’

राससको समाचार सम्पादनसहित प्रकाशित

भदौ २, २०८३ मंगलबार १३:२३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।