स्वास्थ्य उपकरण खरिदमा स्वास्थ्य मन्त्रीले लगिन् सेटिङमा जोडिएका पन्त, दरबन्दी विपरीत ओम र मदनको सरुवा
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दरबन्दी विपरीत काज सरुवा निकालेकी छिन्। मन्त्री निशा मेहताले दरबन्दी अनुसार चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई ‘काज फिर्ता’ गर्ने दाबी गरेकी थिइन्।
उनले दरबन्दी विपरीत बसेका केहीको काज फिर्ता त गरिन्, तर पुन काज सरुवा गर्दा स्वास्थ्य मन्त्रालय, विभाग र अस्पतालहरूमा दरबन्दी नभएकैलाई पठाइन्।
मन्त्री मेहताले स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको निर्देशकबाट डा. मदन उपाध्यायलाई हटाउँदै वीर अस्पतालमा खटाएर डा. ओम अर्याललाई महाशाखाको निर्देशक बनाइन्।
तर उपाध्यायको सरुवा दरबन्दी विपरीत हो। भरतपुर अस्पतालका अर्थोपिडिक सर्जन डा. अर्यालको परिवार कल्याण महाशाखाको निर्देशकमा भएको सरुवा पनि दरबन्दी विपरीत हो। उपाध्याय र अर्याल दुवैको सरुवा त भयो तर दरबन्दी नै नभएको ठाउँमा।
विभाग अन्तर्गतको परिवार कल्याण महाशाखामा स्वास्थ्य सेवाको पब्लिक हेल्थ एड्मिनेष्ट्रशन (पहेए) समूहको ११औँ तहको स्वास्थ्यकर्मी निर्देशक हुने व्यवस्था छ। परिवार कल्याण महाशाखामा यसअघि डा. उपाध्याय नै निर्देशक थिए तर दरबन्दी विपरीत। उनको दरबन्दी अनुसार सरुवा हुने हो भने राष्ट्रिय ट्रमा सेन्टर हो।
मन्त्री मेहताले परिवार कल्याणको जिम्मेवारी दिएका डा. अर्यालको सरुवा पनि दरबन्दी विपरीत हो। ११औँ तहका प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. अर्यालको दरबन्दी भरतपुर अस्पतालमा छ। तर उनी सोमबार महाशाखामा हाजिर भए।
ट्रमा सेन्टरमा दरबन्दी भएका डा. उपाध्यायलाई त्यही नजिक रहेको बीर अस्पतालको निर्देशक बनाइन् मन्त्रीले। ट्रमा सेन्टरमा स्वास्थ्य सेवाको ‘जनरल हेल्थ सर्भिसेस’ (जहेस) समूहको ११औँ तहको चिकित्सक प्रमुख हुने व्यवस्था छ। ट्रमा सेन्टरमा भने दरबन्दी विपरीत डा. रुद्र मरासिनी प्रमुख छन्।
खरिदमा विवादितलाई नै प्राथमिकता
सरुवामा दया पन्त स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा (खरिद शाखा प्रमुख) मा आए।
सो शाखामा कार्यरत चेतनिधि वाग्लेलाई राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा सरुवा गरियो। पन्तले पत्र लिइसके पनि हाजिर हुन नगएको शाखाका एक अधिकारीले बताए। पन्त आपूर्ति व्यवस्थापन शाखामा दोस्रो पटक गएका हुन्। प्रदीप पौडेल स्वास्थ्य मन्त्री रहेको बेलामा उनले पन्तलाई मन्त्रालयबाट खरिदमा लगेका थिए।
पन्तको कार्यकालमा विभागबाट भएका खरिद प्रक्रिया व्यापारीहरूको स्वार्थ अनुसार मिलेमतोमा अगाडि बढेका थिए। उकेराले मिलेमतोबारे निरन्तर प्रमाणसहित समाचार प्रकाशित गरे पनि तत्कालीन मन्त्री पौडेलले चासो दिएका थिएनन्।
विभागबाट अगाडि बढ्ने खरिदको प्रक्रिया अगाडि बढाउने खरिद शाखा नै हो। सो शाखामा पन्त जानु अगाडि सुरेन्द्र चौरासिया थिए। उनी लामो समय सोही शाखामा काम गरे। चौरिसियाको सरुवासँगै त्यहाँ आफू निकट व्यापारीको टेन्डर पार्ने रणनीति अनुसार सरुवा गरिएका पन्त पुगेका थिए।
खरिदमा अहिले उनै विवादित पन्त पुगेका छन्। चौरसिया भने अहिले विशेष अदालतबाट भ्रष्टाचारमा दोषी ठहर भइसकेका छन्। नागरिक सरकारकी स्वास्थ्य मन्त्री सुधा शर्माले पन्तको सरुवा गरेर व्यवस्थापन महाशाखाबाट राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा पठाएकी थिइन्।
पन्त आपूर्ति व्यवस्थापन शाखामा भएको समयमा डा पवनजंग रायमाझी व्यवस्थापन महाशाखाको निर्देशक थिए भने डा. टंक बाराकोटी महानिर्देशक थिए। पन्त अनि रायमाझीसहितले अगाडि बढाएको खरिद प्रक्रियामा मिलेमतो देखिएपछि उनले रोकेका थिए। तर सेटीङमा हुने दबाब थेग्न नसकेपछि उनले घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए।
त्यसपछि डा. केशर ढकाल विभागको महानिर्देशक भए पनि उनले पनि अवकाश पाइसकेका छन्। हाल विभागको निमित्त महानिर्देशकको जिम्मेवारीमा डा. अनुज भट्टचन छन्।
मन्त्री पौडेलले डा विकास देवकोटालाई महानिर्देशक बनाउँदा निर्देशकमा रायमाझी र खरिदमा पन्त थिए। यी तीन मिलेर अगाडि बढाएको अधिकांश खरिद स्पेशिफिकेशनै लक गरेर अगाडि बढेका थिए। डा देवकोटा बढुवा भएर सचिव भएपछि बाराकोटी महानिर्देशक भएर गएका थिए।
भदौ १, २०८३ सोमबार २२:३८:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।