पाकिस्तानी जेलमा इमरान खानको बिजोक : अदालतको आदेशपछि अस्पताल सारिँदै, परिवारलाई भेट्न पाइने

पाकिस्तानी जेलमा इमरान खानको बिजोक : अदालतको आदेशपछि अस्पताल सारिँदै, परिवारलाई भेट्न पाइने

एजेन्सी : पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई अस्पताल सार्न आदेश दिएको छ। उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको गुनासो आएपछि अदालतले यस्तो आदेश दिएको हो।

तीन न्यायाधीश सम्मिलित इजलासले मंगलबार क्रिकेटरबाट राजनीतिज्ञ बनेका खानलाई आगामी ४८ घण्टाभित्र इस्लामाबादस्थित ‘शिफा इन्टरनेसनल अस्पताल’ लगेर चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउन आदेश दिएको छ।

अदालतले खानलाई हप्तामा एकपटक परिवारका सदस्यहरूसँग भेट्न र छोराहरूसँग टेलिफोनमा कुरा गर्न दिने व्यवस्था मिलाउन पनि भनेको छ। अदालतको यो आदेशबारे पाकिस्तान सरकारले भने सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन।

आँखाको दृष्टि गुम्दै
मंगलबारको आदेशमा अदालतले भनेको छ, ‘कैदीको जीवन, स्वास्थ्य, सम्मान र सुरक्षाको रक्षा गर्नु हाम्रो संवैधानिक र कानुनी दायित्व हो भन्ने कुरामा हामी सचेत छौँ।’

७३ वर्षीय खानका वकिलहरूका अनुसार उनी कमजोर दृष्टिलगायत विभिन्न स्वास्थ्य समस्याबाट पीडित छन् र जेलमा विशेषज्ञ चिकित्सकको सेवा पाउनबाट वञ्चित छन्।

गत फेब्रुअरीमा खानका वकिलले जेल प्रशासनको बेवास्ताका कारण उनको दायाँ आँखाको दृष्टि जम्मा १५ प्रतिशत मात्र बाँकी रहेको बताएका थिए। यद्यपि, सरकारले यो दाबीलाई अस्वीकार गर्दै आएको छ।

अदालतको आदेशमा खानको उपचारमा आँखा रोग विशेषज्ञलाई अनिवार्य सामेल गराउन भनिएको छ।

खानका सल्लाहकार जुल्फिकार बुखारीले अदालतको फैसलाप्रति प्रतिक्रिया दिँदै भनेका छन्, ‘यो आदेश अलि छिटो आएको भए उनको आँखा र समग्र स्वास्थ्य यति धेरै बिग्रने थिएन।’

यसैबीच, अदालत र खानको पार्टी ‘पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई)’ ले अस्पताल बाहिर भिड जम्मा नगर्न समर्थकहरूलाई चेतावनी दिएका छन्। भिड जम्मा भएमा त्यो अदालतको आदेशको उल्लंघन ठहरिनेछ।

के थियो पृष्ठभूमि ?
पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका खान सन् २०१८ देखि २०२२ सम्म देशको प्रधानमन्त्री थिए।

अगस्ट २०२३ मा भ्रष्टाचारको आरोपमा जेल परेका उनीमाथि राज्यका गोप्य सूचना चुहाएकोदेखि सरकारी उपहार बेचेकोसम्म सयभन्दा बढी मुद्दा लगाइएको छ।

खानले भने यी सबै आरोपहरूलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताउँदै आएका छन्। गत वर्षको अन्त्यमा खान र उनकी पत्नी बुशरा बीबी दुवैलाई १७ वर्षको जेल सजाय सुनाइएको थियो।

उनी जेल परेपछि समर्थकहरूले ठूलो विरोध प्रदर्शन गरेका थिए, जसलाई प्रशासनले बल प्रयोग गरेर दबाएको थियो।

जेलमा भए पनि खान पाकिस्तानी राजनीतिमा अझै बलियो पकड राख्छन् र उनका समर्थकहरूको संख्या निकै ठूलो छ।

भदौ ३, २०८३ बुधबार ०७:३३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।