ट्रम्पले सार्वजनिक गरे ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाइएको नक्सा

ट्रम्पले सार्वजनिक गरे ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाइएको नक्सा

एजेन्सी : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा सार्वजनिक गर्दै रणनीतिक जलमार्गमाथि अमेरिकी नियन्त्रणको संकेत गरेका छन्।

ट्रम्पले आफ्नो ट्रुथ सोसल खातामा उक्त नक्सा पोस्ट गरे। ‘स्ट्रेट अफ होर्मुज’ विश्वको महत्त्वपूर्ण ऊर्जा मार्गमध्ये एक हो, जहाँबाट सामान्य अवस्थामा विश्वको करिब पाँचौँ भाग तेल ओसारपसार हुने गर्छ।

इरानले फेब्रुअरीको अन्त्यमा अमेरिकासँग युद्ध सुरु भएपछि ‘स्ट्रेट अफ होर्मुज’मा पानीजहाजको आवागमन प्रभावकारी रूपमा रोकेको छ। अमेरिकाले इजरायलसँग मिलेर इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि तेहरानले जलमार्ग बन्द गरेको हो।

ट्रम्पले शुक्रबार पहिलो पटक ‘स्ट्रेट अफ होर्मुज’माथि अमेरिकी नियन्त्रणको सम्भावना उल्लेख गरेका थिए। उनले त्यसलाई अमेरिकी क्षेत्र घोषणा गर्ने बताएका थिए। इरानले भने उक्त मार्ग ‘इरानी नै रहने’ प्रतिक्रिया दिएको थियो।

ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उक्त विचार दोहोर्याउँदै ‘स्ट्रेट अफ होर्मुज’ माथि अमेरिकी नियन्त्रण कायम गर्नु राम्रो हुने बताएका थिए।

विदेश नीतिमा विवादास्पद कदम चाल्दै आएका ट्रम्पले यसअघि पनि विदेशी भू-भागमाथि अमेरिकी नियन्त्रणको प्रस्ताव अघि सारेका थिए। सन् २०२५ मा राष्ट्रपतिका रूपमा पुनः कार्यभार सम्हालेयता उनले क्यानडालाई अमेरिकी राज्यका रूपमा समेट्ने, ग्रीनल्यान्डमाथि नियन्त्रण कायम गर्ने तथा गाजा पट्टीको नियन्त्रण लिने प्रस्ताव गरे। यद्यपि, तीमध्ये कुनै पनि योजना कार्यान्वयन भएको छैन।

फेब्रुअरी २८ मा इरानविरुद्ध युद्ध सुरु हुनुअघि ‘स्ट्रेट अफ होर्मुज’ खुला अन्तर्राष्ट्रिय जलमार्गका रूपमा सञ्चालनमा थियो। इरानले भने अमेरिका र इरानबीचको वार्ता तथा जलमार्ग पुनः खोल्नुअघि आफ्ना विभिन्न माग पूरा गर्नुपर्ने अडान राख्दै आएको छ। 

ती मागमा इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, तेलसम्बन्धी प्रतिबन्ध अन्त्य गर्नुपर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने तथा युद्धबाट भएको क्षतिबापत क्षतिपूर्ति दिनुपर्ने विषय समावेश छन्।

भदौ २, २०८३ मंगलबार २२:४१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।