बीवाईडीका गाडीमा अब एनसेलको आईओटी सिम राखिने, फोनबिनै इन्टरनेट चलाउन सकिने

बीवाईडीका गाडीमा अब एनसेलको आईओटी सिम राखिने, फोनबिनै इन्टरनेट चलाउन सकिने

काठमाडौं : एनसेल र बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इन्कबीच सवारी साधनमा 'इन्टरनेट अफ थिङ्स' (आईओटी) सिममार्फत कनेक्टेड भेहिकल सेवा उपलब्ध गराउने साझेदारी भएको छ।

 यस सम्झौतासँगै अब नेपालमा बिक्री हुने बीवाईडीका सवारी साधनहरूमा एनसेलको आईओटी सिम जडान गरिनेछ। यसले बीवाईडीका गाडीहरूमा वाई-फाई हटस्पट वा मोबाइल डेटाको प्रयोग बिनै सिधै इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउनेछ।  

यस सुविधाले बीवाईडीको एप इकोसिस्टम तथा कनेक्टेड इन्फोटेनमेन्ट प्रणालीलाई सपोर्ट गर्ने कम्पनीले जनाएको छ। ग्राहकले फोन कनेक्ट नगरी सवारीसाधनको सिस्टमबाटै युट्युब, स्पोटिफाइ, काराओकेलगायत अनलाइन सेवा तथा डिजिटल मनोरञ्जन प्रयोग गर्न सक्नेछन्।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताका अनुसार प्रत्यक्ष सवारी कनेक्टिभिटीका कारण बीवाईडी एप र विभिन्न इन्फोटेनमेन्ट सेवाका लागि बाह्य हटस्पट वा मोबाइल डेटामा निर्भर हुनुपर्ने आवश्यकता कम हुनेछ। साथै, स्थानीय मोबाइल नेटवर्कमार्फत नेभिगेसनलगायतका सेवा थप भरपर्दो बनाउन सहयोग पुग्ने कम्पनीको दाबी छ।

यो सुविधा नयाँ बीवाईडी ग्राहकमा मात्र सीमित नहुने भएको छ। यसअघि नै बीवाईडीका सवारीसाधन प्रयोग गरिरहेका ग्राहकले पनि नेपालभर रहेका १३ वटा आधिकारिक बीवाईडी सर्भिस सेन्टरमध्ये आफूलाई पायक पर्ने स्थानमा गई एनसेलको आईओटी सिम जडान गर्न सक्नेछन्।

त्यस्तै, साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठले एनसेलसँगको सहकार्यले बीवाईडीका गाडीमा रहेका इन्टेलिजेन्ट सुविधाहरूको पूर्ण उपभोग गर्न ग्राहकहरूलाई सहज हुने विश्वास व्यक्त गरे। 

कम्पनीका अनुसार आईओटी सिममार्फत उपलब्ध हुने कनेक्टिभिटी, प्याकेजको अवधि र शुल्क भने सवारीसाधन तथा सम्बन्धित सेवा प्याकेजअनुसार फरक हुनेछ। साथै, उपलब्ध सुविधाहरू सवारीसाधनको मोडल, सफ्टवेयर र नेपालमा उपलब्ध सेवाअनुसार निर्भर हुने जनाइएको छ।

भदौ २, २०८३ मंगलबार १७:५१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।