'स्वर्ण उत्सव'का रूपमा भदौ ९ देखि नाडा अटो शो : ह्युमानोइड रोबोट र नयाँ ईभीसहित २०० बढी स्टल रहने
काठमाडौं : नेपालको अग्रणी तथा चर्चित अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने भएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गर्ने प्रदर्शनीको यस १८औँ संस्करणको शीर्ष प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको छ।
नाडाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यसपटकको प्रदर्शनीलाई 'स्वर्ण उत्सव संस्करण' का रूपमा भव्य रूपमा मनाउन लागिएको आयोजकले जनाएको छ।
छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको पछिल्लो विकास, प्रविधि, उत्पादन र सेवाबारे जानकारी दिने तथा व्यवसायी, उपभोक्ता र सरोकारवालाबीच प्रत्यक्ष सम्पर्कको अवसर प्रदान गर्ने आयोजकले जनाएको छ। प्रदर्शनीमा अटोमोबाइल कम्पनीहरूले आफ्ना नवीनतम सवारी साधन, प्रविधि, उत्पादन तथा सेवाहरू सार्वजनिक गर्नेछन्।
२०० भन्दा बढी स्टल रहने
नाडा अटो शो २०२६ मा २०० भन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा २३ वटा ब्रान्डका प्यासेन्जर कार, १७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, १३ वटा ब्रान्डका दुईपांग्रे सवारीसाधन तथा १० वटा वित्तीय एवं बिमा सेवा प्रदायकको सहभागिता रहनेछ। त्यस्तै ७० वटा अटोमोटिभ स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण र एसेसरिज स्टलहरू रहनेछन्।
नेपालमै एसेम्बल तथा उत्पादन हुने सवारीसाधन, ल्युब, ब्याट्री, हेल्मेटल र अन्य कम्पोनेन्टहरूलाई प्रोत्साहन गर्न छुट्टै 'मेड इन नेपाल / मेड फर नेपाल' प्याभिलियन रहनेछ।
त्यस्तै, यातायात तथा मोबिलिटी क्षेत्रमा प्रयोग हुन थालेका नयाँ प्रविधिको अनुभव गराउने उद्देश्यले 'जी१' ह्युमनोइड रोबोट र 'जी२' क्वाड्रुपेड रोबोटको विशेष प्रदर्शन गरिनेछ।
प्रदर्शनीमा विभिन्न ब्रान्डका नयाँ मोडलहरू सार्वजनिक गरीनुका साथै स्मार्ट मोबिलिटी, कनेक्टिभिटी र दिगो विकासमा केन्द्रित छलफल तथा गोष्ठीहरू आयोजना गरिनेछ।
सुविधा, सुरक्षा र पार्किङ व्यवस्था
आयोजकले प्रदर्शनीमा आउने दर्शकका लागि छुट्टाछुट्टै जोनको व्यवस्था गरेको जनाएको छ। दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स तथा ग्यारेज उपकरणका लागि छुट्टाछुट्टै प्रदर्शनी क्षेत्र रहनेछन्। पार्किङका लागि भृकुटीमण्डपभित्रको ग्राउन्ड पार्किङका साथै सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
टिकट बिक्री तथा अग्रिम बुकिङका लागि खल्तीमार्फत व्यवस्था गरिएको छ भने अग्रिम टिकट खरिदमा निश्चित अवधिका लागि ५० प्रतिशत क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रदर्शनी स्थल ह्विलचेयर मैत्री बनाइएको छ।
आयोजकका अनुसार ६ दिनसम्म चल्ने उक्त मेलामा करिब २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
भदौ २, २०८३ मंगलबार १७:३५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।