आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

काठमाडौं : आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट थप चार कम्पनीले अनुमति मागेका छन्। मकरीगाड हाइड्रोपावर लिमिटेड, कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, इन्द्रेणी मसरुम फार्म लिमिटेड र मध्यपुर अस्पताल लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन्।

यी चारवटै कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ निष्कासन गर्ने गरी अनुमति मागेका छन्।कम्पनीहरूले साउन महिनामै आवेदन दिए पनि सेबोनले आफ्नो वेबसाइटमार्फत हालै मात्र यसको जानकारी सार्वजनिक गरेको हो।

मकरीगाड हाइड्रोपावरले २२ लाख २७ हजार ५०० कित्ता आईपीओ निष्कासनका लागि साउन २२ गते आवेदन दिएको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

यस्तै, इन्द्रेणी मसरुम फार्मले ८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासनका लागि साउन २२ गते नै आवेदन दिएको छ। कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

साउन २२ गते नै मध्यपुर अस्पतालले पनि आईपीओ निष्कासनको अनुमति मागेको छ। अस्पतालले २८ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको हो। यसको बिक्री प्रबन्धक पनि मुक्तिनाथ क्यापिटल रहेको छ। 

कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनीले भने २४ लाख कित्ता आईपीओ निष्कासनका लागि साउन २९ गते बोर्डमा आवेदन दिएको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

यी चार कम्पनीले कुल ८३ लाख २ हजार ५०० कित्ता आईपीओ निष्कासनका लागि अनुमति मागेका छन्। अंकित मूल्य १०० रुपैयाँका आधारमा हेर्दा यी कम्पनीहरूले कुल ८३ करोड २ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेका छन्।

तर, पछिल्लो समय सेबोनले नयाँ आईपीओ निष्कासनको अनुमति प्रक्रिया अघि बढाएको छैन। बोर्डले गत वैशाख २ गतेपछि कुनै पनि कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छैन।

प्राथमिक बजारमा सुधारका विभिन्न योजना अघि सारेको सेबोनले नीतिगत सुधारपछि मात्र नयाँ आईपीओ निष्कासनको अनुमति प्रक्रिया अघि बढाउने बताउँदै आएको छ। त्यसैले आवेदन दिएका यी चार कम्पनीको आईपीओ स्वीकृति भने बोर्डको आगामी नीतिगत निर्णयमा निर्भर रहनेछ।

भदौ २, २०८३ मंगलबार १५:४८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।