पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलबाट अस्पताल सार्न सर्वोच्चको आदेश

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलबाट अस्पताल सार्न सर्वोच्चको आदेश

एजेन्सी : पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलबाट अस्पताल सार्न आदेश दिएको छ। 

खानको राजनीतिक दल पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का अनुसार अदालतले मंगलबार उनलाई उपचारका लागि अस्पताल लैजान आदेश दिएको हो। उनको स्वास्थ्य अवस्थालाई लिएर परिवार र पार्टीले लगातार अस्पतालमा उपचार गराउन माग गर्दै आएका थिए।  

७३ वर्षीय खान सन् २०२३ को अगस्टदेखि जेलमा छन्। सन् २०२२ मा प्रधानमन्त्री पदबाट हटाइएपछि उनीमाथि विभिन्न मुद्दाहरू लगाइएका थिए, जसलाई उनले राजनीतिक प्रतिशोधबाट प्रेरित भएको बताउँदै आएका छन्।  

खानका छोराहरूले गत वर्ष उनको बिग्रिँदै गएको स्वास्थ्यप्रति पटक-पटक चिन्ता व्यक्त गरेका थिए भने उनका कानुन व्यवसायीहरूले जेलमा रहँदा उनको दाहिने आँखाको दृष्टि क्षमतामा कमी आएको आएको दाबीसमेत गरेका छन्।

अदालतको यो निर्णयको स्वागत गर्दै पीटीआई का प्रवक्ता जुल्फिकार बुखारीले भने, "यो धेरै स्वागतयोग्य आदेश हो। यो आदेश अझ अगाडि नै आएको भए उgको आँखा र समग्र स्वास्थ्यमा यति धेरै खराबी आउने थिएन।" 

उनले खानलाई सबै चिकित्सकले स्वास्थ्य अवस्था सन्तोषजनक भएको नबताएसम्म अस्पतालमै राख्नुपर्ने मागसमेत गरेका छन्। 

४८ घण्टाभित्र अस्पताल लैजान आदेश

खानका प्रवक्ता नईम हैदर पञ्जुथाले सर्वोच्च अदालतले खानलाई ४८ घण्टाभित्र 'शिफा इन्टरनेसनल हस्पिटल' मा सार्न र सेप्टेम्बर १६ सम्म त्यहीँ राख्न आदेश दिएको जानकारी दिएका छन्। 

अविश्वासको प्रस्तावमार्फत सत्ताच्युत भएपछि खानमाथि राज्यका उपहारसम्बन्धी मुद्दादेखि गैरकानुनी विवाहसम्मका मुद्दा चलेका छन्।केही मुद्दामा भएका सजाय निलम्बन वा खारेज भएका छन् भने केहीको पुनरावेदन प्रक्रियामा छन्। खानले सबै आरोपहरू अस्वीकार गर्दै आएका छन्।  

खानको अवस्थाप्रति क्रिकेट खेलाडीको पनि चिन्ता

खानको जेल अवस्थाप्रति भारतसहित विश्वभरका चर्चित क्रिकेट खेलाडीहरूले पनि चिन्ता व्यक्त गरेका थिए।  फेब्रुअरीमा उनीहरूले खानलाई जेलमा उचित व्यवहार र उपचार उपलब्ध गराउन गर्न माग गरेका थिए। खान पूर्वप्रधानमन्त्री मात्र नभई पाकिस्तानका चर्चित पूर्वक्रिकेटरसमेत हुन्। 

सन् २०१८ मा सत्तामा आएको पीटीआईको अझै पनि मुख्य प्रान्तहरूमा ठूलो जनसमर्थन रहेको छ। तर,तर सन् २०२४ को आमनिर्वाचनअघि पीटीआईलाई निर्वाचन चिह्न प्रयोग गर्नबाट वञ्चित गरिएको थियो। त्यसपछि पार्टीका उम्मेदवारहरूले स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन लडेका थिए।

भदौ २, २०८३ मंगलबार १५:१८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।